माओवादीले लत्यायो कोशी प्रदेश, ‘प्रदेश १’ कै ब्यानरमा प्रचण्ड

लोकपथ
1k
Shares

काठमाडौं । प्रदेश सदस्य र पदाधिकारीसँगको परामर्शका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पदाधिकारीहरु कोशी प्रदेशमा छन् ।

बिहान प्रचण्डसहितका पदाधिकारीहरु विराटनगर विमानस्थलमा ओर्लिएका हुन् ।

आज उदयपुरको बेलका नगरपालिका–८ रामपुरमा प्रदेश सदस्य तथा पदाधिकारीहरुको परामर्श बैठक बसेको हो ।

प्रचण्ड सहभागी कार्यक्रमको ब्यानरमा भने ‘प्रदेश नं’ १ नै लेखिएको पाइएको छ । उसो त बेलाबेला पहिचानवादीहरुको मुद्दा उचाल्ने माओवादीले कोशी प्रदेश बनाउने विषयमा प्रदेश सभामा मतदान गरेको थियो । २०७९ साल फागुन १७ गते माओवादी सांसदहरुले नै मतदान गरेर प्रदेश नामाकरणमा सहमती जनाए पनि माओवादीले प्रदेशमा गर्ने कार्यक्रममा भने प्रदेश नं १ कै ब्यानर प्रयोग गर्दै आइरहेका छन् ।

पार्टी अध्यक्ष प्रचण्डको निर्देशनमा प्रदेश सभामा कायम रहेका १२ सदस्यहरुले कोशी नामाकरणमा मतदान गरे । तर पहिचानवादीहरुले त्यसको विरुद्ध आन्दोलन थालेपछि भने माओवादीहरु भने पुनः त्यसको विपक्षमा लागेका हुन् । केही माओवादी नेताहरु पहिचानवादीको निशानामा पर्न थालेपछि उनीहरुले पहिचानवादीलाई मौन समर्थन गर्न थालेका हुन् ।

अहिले मात्र होइन गत साउन २२ गते पनि प्रचण्ड प्रदेश समितिको ७औँ पूर्ण बैठकमा सहभागि हुने कोशी प्रदेश पुगेका थिए । सो कार्यक्रमको ब्यानरमा पनि ‘प्रदेश नं १’ लेखिएको थियो ।

माओवादीसहितको समर्थनमा प्रदेश सभाबाट दुई तिहाईले पारित गरेको नामका विषयमा पुनः माओवादीले पछि हटेपछि आलोचना समेत भइरहेको छ ।

गत असार २९ गते प्रचण्ड प्रधानमन्त्रीबाट हटेपछि माओवादी केन्द्रले सबै प्रदेशहरुमा परामर्श गरिरहेको छ । पार्टी सुदृढीकरणका लागि आयोजना गरिएको कार्यक्रममा प्रदेश कमिटीको राय सुन्ने कार्यसूची रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?