देशको राजनीति र नेताप्रति राजेश हमालको चरम असन्तुष्टी

लोकपथ
14
Shares

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता राजेश हमालले नेपालका नेता र राजनीतिप्रति असन्तुष्टी जनाएका छन् ।

आइतबार ललितपुरमा भएको काठमाडौं कलिङ साहित्य सम्मेलनको एक सेसनमा बोल्दै हमालले सो कुरा बताएका हुन् ।

हमालले राजनीतिज्ञहरुले राम्रो काम गर्न नसकेका कारण आफूलाई पनि राजनीतिमा आइदिए हुन्थ्यो भन्ने अपेक्षा दर्शकहरुले गरेको बताए ।

साथै अहिलेको समयमा नेता र राजनीतिले देश बिगारेका कारण हरेक क्षेत्रका व्यक्तिहरुबाट राजनीतिको आशा दर्शक र आम जनताले गर्न थालेको बताए ।

‘मलाई दर्शकहरूले राजनीतिमा आइदिए हुन्थ्यो भनेर अपेक्षा राख्नुहुन्छ । यो हाम्रो राष्ट्रको बिडम्बना हो । जो राजनीतिमा लागिरहनुभएको छ । उहाँहरूबाट खासै काम भएको छैन। उहाँहरू निराश हुनुहुन्छ। हरेक व्यक्तिले सम्भावना खोजिरहनुभएको हुन्छ। सम्भावना हरेक क्षेत्रबाट खोजिरहनुभएको हुन्छ । तर जसबाट अपेक्षा राखिएको छ उहाँहरूबाट खासै काम भएको छैन ।’

राजनीति देशको मुख्य मेरुदण्ड भए पनि देशको मेरुदण्ड कमजोर भएको भन्दै राजनीतिज्ञप्रति व्यंग्य गरे ।

‘…बिडम्बना हाम्रा राजनीतिज्ञले सन्तोषजनक काम गर्न सक्नुभएन । समाजले विभिन्न पेसामा लागेको व्यक्तिलाई त्यहाँ राम्रो गरेको देख्नुभयो भने राजनीतिमा अपेक्षा राख्नुहुँदो रहेछ,’ उनले भने, ‘राजनीति भनेको मेरुदण्ड हो । मेरुदण्डले काम गरेन भने शरीरका अरु अङ्गले काम गर्दैनन् ।मेरुदण्ड कमजोर हुने बित्तिकै त्यो राष्ट्रका अरु कुरा कमजोर हुन्छ। हाम्रो राजनीति पनि त्यस्तै भएको हो ।’

कार्यक्रममा बोल्दै आफूप्रति धेरै व्यक्तिहरुको राजनीतिमा आइदिए हुन्थ्यो भन्ने अपेक्षा भए पनि सबैले सबै क्षेत्रमा राम्रो गर्न नसक्ने बताए ।

सो कार्यक्रममा हमालले आफ्नो चलचित्र करियरको सुरुवाती दिनदेखि आजका दिनसम्मको संघर्षका कथाहरु सुनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?