काठमाडौं । नेपालस्थित अमेरिकी राजदूतावासमा इलेकट्रोनिक डाइभरसिटी भिसा प्रयोजनको लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको अभियोगमा ४ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका–८ घर भई सोही नगरपालिका–४ इमाडोल बस्ने ३२ वर्षीया गोमा पाण्डे, सर्लाही लालबन्दी नगरपालिका–१० घर भई ललितपुर महालक्ष्मी नगरपालिका–५ टिकाथली बस्ने २८ वर्षीय अनिल कुमार महतो, झापा अर्जुनधारा नगरपालिका–८ घर भई ललितपुर इमाडोल बस्ने ५० वर्षीय गोपाल प्रसाद घिमिरे र संखुवासभा खाँदवारी नगरपालिका–९ घर भई भक्तपुर मध्यपुर ठिमी नगरपालिका–५ बस्ने ४३ वर्षीय सुवास ढकाल रहेका छन् ।
इलेकट्रोनिक डाइभरसिटी भिसा प्रयोजनको लागि एसइई र प्रविणता प्रमाणपत्रको नक्कली शैक्षिक प्रमाणपत्र, नक्कली एकेडेमिक ट्रान्सक्रिप्ट बनाई पेस गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले अमेरिकी राजदूतावाससँगको समन्वयमा उनीहरूलाई राजदूतावासबाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया