‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोहको खर्च प्रधानमन्त्रीले बेहोर्नुपर्छ’

लोकपथ
140
Shares

काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह स्थगित भएको विषयमा संसद्मा प्रश्न उठेको छ ।

आज बसेको प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) ले त्यसबारे प्रश्न उठाए ।

प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तिम समयमा आफू नआउने जानकारी गराएपछि धेरै विद्यार्थीदेखि अथितिसम्म मारमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

उनले प्रतिष्ठानका ५६ जना विद्यार्थी, डा. सन्दुक रुईत लगायत आफूहरु त्यहाँ पुग्दा अन्तिम समयमा प्रधानमन्त्री नगएको बताउँदै त्यसमा भएको खर्च प्रधानमन्त्रीले व्यक्तिगत रुपमा बेहोर्नुपर्ने बताए ।

‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह भन्दै ५६ जना पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्म जुम्ला गए । त्यतिमात्र होइन डा. सन्दुक रुईत जानुभयो, हामीहरु गयौँ, स्वास्थ्य सचिव जानुभयो । लास्टमा आएर प्रधानमन्त्रीले म आउँदिन दीक्षान्त समारोह पछाडी सार । हुकुमी शासन हो । त्यहाँ गरिएको खर्च प्रधानमन्त्रीको व्यक्तिगत सम्पत्तिबाट असुलउपर गर्नुपर्छ । प्रधानमन्त्री बिरामी हुनुभयो हामी स्वीकार्छौँ, मौसम खराबी भयो हामी स्वीर्काछौँ । उहाँको बेस्तता, भ्यूटावर भइदिएको भए दौडिएर जानुहुन्थ्यो होला, विश्वविद्यालय भयो त्यही भएर जानुहुन्न,’ उनले भने ।

आइतबारका लागि तोकिएको दीक्षान्त समारोह प्रधानमन्त्री ओलीको नगएका कारण भन्दै रोकिएको थियो ।

५६ जना विद्यार्थी लगायत अथितिहरु समेत त्यहाँ पुगिसकेपछि प्रधानमन्त्री ओलीले अन्तिम समयमा आफू जान नसक्ने जानकारी गराएपछि दीक्षान्त समारोह रोकिएको हो ।

दीक्षान्त समारोह रोकिएपछि प्रतिष्ठानले विज्ञप्ति जारी गर्दै आगामी कार्तिक १८ गते बुधबार गर्नेगरी तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?