धनराजकी पूर्वपत्नी ज्योतिविरुद्ध सहकारी ठगीको आरोप, सीआईबीमा उजुरी

सहकारी प्रकरणले धनराजको पत्नीसँग सम्बन्धविच्छेद !

लोकपथ
161
Shares

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङविरुद्ध सहकारी ठगीको आरोप लागेको छ । सहकारी ठगीमा अनुसन्धान र कारवाहीको माग गर्दै ज्योति लगायतका व्यक्तिविरुद्ध उजुरी परेको हो ।

ज्योतिसहितका व्यक्तिविरुद्ध ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको करोडौँ रकम अनियमितता गरेको आरोप लागेको छ । अनियमितताको छानबिन गर्न माग गर्दै ज्योति लगायतका सहकारी सञ्चालकविरुद्ध केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा उजुरी परेको हो ।

त्यसो त धनराजविरुद्ध पनि सोही सहकारी ठगी प्रकरणमा उजुरी परेको दावी गरिएको छ । यद्यपि सीआइबीले भने धनराजविरुद्ध कुनै उजुरी नपरेको बताएको छ । केही व्यक्तिहरुले धनराजसमेतका व्यक्तिविरुद्ध सीआईबीमा जाहेरी दिएको कागज सञ्चारमाध्यमलाई उपलब्ध गराएका थिए । यद्यपि त्यो जाहेरीको ड्राफ्टमात्रै भएको र धनराजविरुद्ध कुनै जाहेरी नपरेको सीईआबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले लोकपथलाई बताए । जाहेरकर्ताहरुले तयार गरेको जाहेरीको ड्राफ्टजस्तो देखिने पत्र बाहिर आएको र उक्त पत्र आफूसँग समेत रहेको बताउँदै धनराजविरुद्ध सीआइबीमा कुनै जाहेरी नपरेको बोगटीले बताए ।

बोगटीले भने ‘त्यो कागज मैले पनि पाए । त्यो उनीहरुले ड्राफ्ट गरेका होलान्, हामीकहाँ आएको छैन । ज्योति गुरुङ लगायतका केही व्यक्तिहरुविरुद्ध जाहेरी आएको छ, त्यसमा धनराज गुरुङको नाम उल्लेख छैन ।’

त्यस्तै सीआईबीले जुन स्थानीय तहमा सहकारी दर्ता भई सञ्चालनमा रहेको हो, सोही स्थानबाट अनुसन्धानका लागि औपचारिक पत्र आएमा मात्रै कानुनी रुपमा अघि बढ्ने बोगटीले बताए । व्यक्तिव्यक्तिले ल्याउने जाहेरीमा कारवाही प्रकृया अगाडि बढाउन नसकिने बोगटीले स्पष्ट पारे ।

‘यहाँ सहकारी पीडित त हजारौं होलान्, व्यक्ति–व्यक्तिको उजुरी लिएर छानबिन वा कारवाही गर्ने कुरा भएन । सहकारी जुन स्थानीय तह वा जहाँ दर्ता भएको हो, त्यहीँबाट लिखितरुपमा थप अनुसन्धानका लागि लेखी आएमा हामीले अनुसन्धान गर्ने हो । व्यक्तिगतरुपमा आएका उजुरीलाई हामीले आफैँ कारवाही प्रकृयामा लैजाने भन्ने हुँदैन,’ उनले भने ।

समस्याग्रस्त रुपमा रहेको मितेरी सहकारीका अध्यक्ष कुम्भराज गुरुङमाथि समेत सहकारी ठगी प्रकरणको छानबिनका लागि गठित समितिले बयान लिएको थियो । उक्त बयानका क्रममा कुम्भराजले धनराज र ज्योतिले १४ करोड ८१ लाख बचत हिनामिना गरेको आरोप लगाएका थिए ।

सहकारीकै कारण श्रीमतीसँग धनराजको सम्बन्धविच्छेद !

यता धनराजले भने आफूसँग सहकारीकै पैसाका कारण श्रीमतीसँग सम्बन्ध बिच्छेद भएको दाबी गर्दै आएका छन् ।

धनराजनिकट स्रोतका अनुसार उनीहरुबीच केही समयअघि डिभोर्सको प्रकृया अगाडि बढेको थियो । यद्यपि सम्बन्धविच्छेदले कानुनी मान्यता पाइसकेको हो कि होइन, अझै स्पष्ट भएको छैन । उनीहरु अहिले अलगअलग बस्ने गरेको भएपनि बेलाबेलामा भेट भने हुने गरेको छ । साथै धनराज मन्त्री भएका बेला दुईबीच हिमचिम बढेको स्रोतले बतायो ।

कांग्रेसनिकट स्रोतले लोकपथसँग भन्यो, ‘भाउजुकै कारण दाइ अलि तनावमा भएको हामीले बुझेका थियौँ । पछि उहाँहरुबीच सम्बन्ध बिच्छेद भएको कुरा पनि आयो । नजिक भएर हिँडे पनि सम्बन्धका बारेमा हामीसँग खासै केही कुरा भएन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?