सरकारी कर्मचारीलाई झड्का, कार्यालयमा बसेर शेयर कारोबार गर्न प्रतिबन्ध

लोकपथ
56
Shares

काठमाडौं । सरकारले देशभरका सरकारी कार्यालयमा शेयर कारोबार प्रणाली ट्रेडिङ म्यानेजमेन्ट सिस्टम (टीएमएस)मा प्रतिबन्ध लगाएको छ ।

सरकारी कर्मचारीहरुले कार्यालय समयमा शेयर कारोबारमा व्यस्त भएको गुनासोपछि सरकारले शेयर कारोबार प्रणालीमा प्रतिबन्ध लगाएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा लेख्दै सरकारी कार्यालयहरुमा टीएमएस प्रणालीमा रोक लगाइएको जानकारी दिए ।

‘सरकारी कार्यालयमा बसेर शेयरबजारमा निजी कारोबार गर्नु कानुनी दृष्टिले पनि अमान्य छ। यसले सरकारी कामकाजमा प्रतिकूल प्रभाव परेको छ र सेवाग्राहीको काम प्रभावित भएको गुनासो आइरहेको छ । यही जनगुनासोलाई सम्बोधन गर्दै अब सरकारले देशभरिका सबै सरकारी कार्यालयमा सेयर कारोबार गर्ने प्रणाली (टीएमएस) प्रतिबन्ध लगाएको छ,’ उनले भनेका छन् ।

त्यस्तै सबै मन्त्रालय, आयोग, सचिवालय र स्थानीय तहका कार्यालयहरुमा टीएमएस नचल्ने बनाउन निर्देशन दिएको बताए । साथै सरकारी कार्यालयमा बसेर सरकारी काम मात्र गर्न आग्रह समेत गरेका छन् ।

‘सबै मन्त्रालय, आयोग, सचिवालय, स्थानीय तहका कार्यालयमा टीएमएस नचल्ने बनाउन निर्देशन दिइएको छ । सरकारी कार्यालयमा अब सरकारी काम मात्र गर्न अनुरोध गर्दछु,’ उनले भने ।

पछिल्ला दिनहरुमा सिंहदरबारका अधिकांश कर्मचारीहरुको धेरै समय शेयर कारोबारमा जाने गरेको गुनासो आएको थियो । जसका कारण सेवाग्राहीहरु मर्कामा परेको गुनासो व्यापक मात्रामा आएपछि सरकारले कदम चालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?