स्वास्थ्य क्षेत्रमा जनशक्ति थप गर्नसक्ने अवस्था छैन : मन्त्री पौडेल

लोकपथ
91
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य संस्थामा जनशक्तिको अभाव भए पनि मुलुकको आर्थिक अवस्थाले जनशक्ति थप गर्नसक्ने अवस्था नरहेको बताएका छन् ।

आज चितवनको नारायणी अस्पताल र भक्तपुर क्यान्सर अस्पतालबीच विस्तारित क्यान्सर उपचार सेवाको उद्घाटन गर्दै मन्त्री पौडेलले सरकारी स्वास्थ्य संस्थामा जनशक्ति थप गर्ने मन भए पनि थप गर्न नसकिने अवस्थामा रहेको स्पष्ट पारेका हुन् ।

‘मन्त्रालय मातहतका सबै स्वास्थ्य निकायमा आवश्यकपर्ने जनशक्ति छैनन् । एकैपटक सय जना डाक्टर र नर्सकोे दरबन्दी सिर्जना गरेर सयौँ जनशक्तिलाई नारायणी अस्पतालमा आबद्ध गराउने मेरो पनि मन थियो । तर राज्यको आर्थिक अवस्थाले अहिले त्यो सम्भव भने देखिँदैन,’ मन्त्री पौडेलले भने ।

उनले नारायणी अस्पताललगायत देशभरिका अस्पतालमा स्वास्थ्यसँग सम्बन्धित सबै उपकरण भरिभराउ गर्ने रहर भए पनि सो गर्न तत्कालै नसकिने बताए । ‘देशैभरिका अस्पतालमा उपकरण भरिभराउ गराउ भन्ने रहर नभएको होइन । तर, अहिलेको आर्थिक अवस्थाले त्योअनुसारको खर्च गर्नसक्ने अवस्था भने छैन,’ उनले भने, ‘त्यसैले अहिले जेजस्तो पूर्वाधार छ, त्यसलाई नै व्यवस्थित गर्नेतर्फ अग्रसर हुन जरुरी छ ।’

मन्त्री पौडेलले नारायणी अस्पताल व्यवस्थापनलाई पनि स्थानीय स्रोतसाधन र आम्दानीको स्रोत बढाउनेतर्फ पनि ध्यान दिन आग्रह गरे ।

‘नारायणी अस्पतालले आफैँ आत्मनिर्भर बनाउनेतर्फ पनि ध्यान दिन जरुरी छ,’ उनले भने, ‘वीरगञ्ज जस्तो औद्योगिक र व्यापारिक सहरमा स्रोतको कुनै कमी छैन । त्यसैले पनि तपाईंहरुले अस्पताललाई आत्मनिर्भर गराउनेतर्फ अग्रसर हुनेतर्फ आवश्यक योजना ल्याउन अनुरोध गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?