मोबाइल व्यवसायीको आन्दोलन : सामसुङ मोबाइलको भिजिबिलिटी आजबाट देशभर बन्द 

लोकपथ
294
Shares

काठमाडौं । नेपाल मोबाइल व्यवसायी महासंघले आजबाट देशभर सामसुङ नेपालका मोबाइल फोनको भिजिबिलिटी बन्द गर्ने घोषणा गरेको छ । 

व्यवसायीले उठाएको मुद्दालाई बेवास्ता गरेको र कार्यक्रम नै बिथोलिन पुगेको भन्दै व्यवसायीहरुको छाता संगठन महासंघले सामसुङ नेपालका विरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । 

सुदूरपश्चिमको धनगढीमा गत भाद्र २० गते सामसुङ नेपालले सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका मोबाइल व्यवसायीका लागि लक्षित गर्दै आयोजना गरेको रिटेल मीट कार्यक्रममा व्यवसायीहरुले मार्जिनको विषय उठाउँदा कार्यक्रम नै भाँडिएको थियो । सो कार्यक्रम व्यवसायीहरुले बहिष्कार नै गरेका थिए ।

नेपाल मोबाइल व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष भरत भट्टराईले महासंघ केन्द्रले उठाएको विषय प्रदेश संरचनाबाट उठ्नु स्वभाविक भएको र उठेका मुद्दालाई समन्वय गर्नुपर्नेमा कार्यक्रम आयोजकले त्यसलाई सम्बोधन गर्न नसक्नु दुःखद भएको बताए ।

‘व्यवसाय सम्बन्धी कुनै पनि विषय कार्यक्रमका शिलशिलामा उठ्छन, मार्जिनको विषय त केन्द्रको चासोको विषय नै थियो,त्यो स्वभाविक पनि हो, कार्यक्रममा उठेका विषयलाई सामसुङ नेपालले सम्बोधन गर्नु पर्नेमा वातावरण झन बिथोल्ने अवस्था बन्यो, यो सुखद होइन,’ महासंघका केन्द्रीय अध्यक्ष भट्टराईले भने । 

महासंघले सोही विषयलाई लिएर आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।   जस अनुसार आज र भोलि देशभर सामसुङ ब्रान्डका मोबाइलको भिजिबिलिटी(मोबाइल डिस्प्ले) पसलबाट  हटाउने र यो दुई दिनमा पनि कम्पनीमार्फत वार्ता र सहमतिको वातावरण नबनाइए थप दुई दिन (२८ र २९ भाद्र) कम्पनीका व्यवसायीक प्रतिनिधि (प्रमोटर) लाई फिर्ता पठाउने निर्णय भएको अध्यक्ष भट्टराईले जानकारी दिए ।

महासंघका उपाध्यक्ष रमेश घिमिरेले महासंघले उठाएको विषयलाई सम्बोधन गरेर वातावरण सहज बनाउने दिशामा कम्पनीले चासो नदिए पहिलो चरणको दबाबमूलक कार्यक्रम पछि थप कार्यक्रम घोषणा गरिने बताए ।

धनगढीमा आयोजित रिटेल मीटमा व्यवसायीहरुले मोबाइल बिक्री गर्दा प्राप्त गर्ने मार्जिन बढाउन आग्रह गरेका थिए । 

तर सामसुङ नेपालका प्रतिनिधिहरूले भने सो विषयका लागि कार्यक्रम आयोजना नगरिएको भन्दै व्यवसायीहरूलाई जुन कार्यक्रमका लागि बोलाइएको त्यो बाहेक अन्य विषयमा छलफल नै नहुने जवाफ दिएका थिए ।

 महासंघका सुदूरपश्चिम अध्यक्ष सुरेश सापकोटाले आयोजकले व्यवसायीहरूलाई अपमानित व्यवहार गरेकाले त्यसपछि व्यवसायीहरू कार्यक्रम नै बहिष्कार गरेर हिँडेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?