संवैधानिक परिषद्को बैठक सर्‍यो

लोकपथ
224
Shares
फाइल तस्बिर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बुधबार साँझ ५ बजे बस्नेगरी बोलाएको संवैधानिक परिषद्को बैठक सरेको छ । सिंहदरबारमा बस्नेगरी बोलाइएको बैठक शुक्रबारसम्मका लागि सरेको हो । यद्यपि, शुक्रबार कति बजे बैठक बस्ने भन्नेबारे जानकारी गराइएको छैन ।

नयाँ प्रधानन्यायाधीश सिफारिसको विषयमा छलफल गर्न बैठक डाकिएको स्रोतले जनाएको थियो । न्याय परिषद्ले यही भदौ २० गते ८ न्यायाधीशको नाम संवैधानिक परिषद् पठाएको थियो । सो सूचीमाथि छलफल गर्न बैठक बोलाइएको थियो ।

न्यायपरिषद्ले सिफारिस गरेका ८ जनामध्येबाट एक जनालाई संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गर्नुपर्ने हुन्छ । संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

हालका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आगामी असोज २० गतेबाट अवकाश पाउँदैछन् । संविधानमा बहालवाला प्रधानन्यायाधीश अवकाश हुनुभन्दा एक महिनाअघि नै भावी प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाउनुपर्ने व्यवस्था छ ।

नेपालको संविधानमा संवैधानिक परिषद्को अध्यक्ष प्रधानमन्त्री रहने व्यवस्था छ । त्यसैगरी सदस्यहरुमा प्रधानन्यायाधीश, प्रतिनिधि सभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, प्रतिनिधि सभाको विपक्षी दलको नेता र प्रतिनिधि सभाको उपसभामुख परिषद्का सदस्य रहने संवैधानिक व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?