मर्मतपछि नेपाल आइपुग्यो निगमको वाइडबडी, चाँडै लामो दुरीको उडान भर्ने

लोकपथ
399
Shares

काठमाडौैं । नेपाल वायुसेवा निगमको एउटा वाइडबडी विमान बिहीबार बिहान काठमाडौं आइपुगेको छ । गत असारमा सी चेक मर्मतका लागि इटाली लगिएको विमान मर्मत सकिएपछि बिहीबार बिहान नेपाल आइपुगेको हो ।

नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलका अनुसार नेपाली समय अनुसार बुधवार साँझ इटालीबाट उडेको विमान बिहीबार बिहान ८ः३६ बजे काठमाडौंमा अवतरण गरेको हो ।

अन्नपूर्ण नाम दिइएको कलसाइन नाइन एन–एएलवाई ए३३० वाइडबडी विमान बिहीबार काठमाडौंमा अवतरण गरेसँगै अब नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को नियमित चेकजाँच र प्रक्रिया पूरा गरी उडान भर्न सुरु गर्नेछ ।

वाइडबडी विमान मर्मत सकेर फर्किए लगत्तै अब जापान लगायतका लामो दूरीका गन्तव्यमा नियमित उडान सुरु गर्ने निगमले जनाएको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार अब क्यानबाट अनुगमन भई प्रक्रिया पूरा भएपछि यस विमानले नियमित उडान सुरु गर्नेछ ।

कलसाइन नाइन एन–एएलवाई ए३३० (अन्नपूर्ण) वाइडबडी विमान काठमाडौं आइपुगेपछि अब निगमसँग दुई वटा न्यारोबडी र एउटा वाइड बडी नियमित उडानमा हुनेछन् । चार वटा विमानबाट अन्तर्राष्ट्रिय उडान भरिरहेको निगमको एउटा वाइड बडी विमान भने सी चेक मर्मतका लागि इटाली मै रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?