काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रा गर्ने यात्रुले अब देखिने गरी खादा, माला लगाउन नपाउने भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन प्राधिकरण कार्यालयले सूचना नै जारी गरी खादा, मालामाथि ‘प्रतिबन्ध’ लगाएको हो ।
सो कार्यालयले खादा, मालाले सुरक्षा जाँच उपकरण बिग्रिएको भन्दै यो कदम चाल्नु परेको प्रष्टीकरण दिएको छ । यात्रुले लगाएको खादा, माला आदिले सुरक्षा जाँचका क्रममा विमानस्थलको जाँच उपकरण एक्सरे, कन्भेयर बेल्ट तथा स्केलेटरमा अड्किएर क्षति पु-याइरहेको कार्यालयले जनाएको छ ।
‘साथै यात्रुले लगाएको खादा, माला विमानस्थलका विभिन्न भागमा छाडी जानेसमेत गर्नाले यसबाट विमानस्थलको सौन्दर्यतामा समेत नकारात्मक असर पुग्ने गरेको’ सो कार्यालयको सूचनामा उल्लेख छ । यात्रुले खादा, माला आफैंसँग लैजानै परे झोलाभित्र नदेखिने गरी राखेरमात्रै आउन पनि अपिल गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया