वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

लोकपथ
35
Shares

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी दुबई, कुवेत, क्रोएसिया लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-९ सिनामंगल बस्ने सिराहा नगरपालिका-७ घर भएका ३० वर्षीय सुशान्त सिंह, काठमाडौं महानगरपालिका–९ सिनामंगल बस्ने कपिलवस्तु कृष्णनगर नगरपालिका–११ घर भएका ३६ वर्षीय सल्लउदिन वेग र काठमाडौं बुढानिलकण्ठ नगरपालिका–८ हात्तिगौडा बस्ने ५३ वर्षीय राजु दाहाल रहेका छन् । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुशान्तलाई काठमाडौं कोटेश्‍वरबाट, सल्लउदिनलाई सिनामंगलबाट र राजुलाई हात्तिगौडाबाट पक्राउ गरेको हो ।  

पक्राउ परेका मध्ये सुशान्तले २ जना पीडितबाट ८ लाख ४० हजार रूपैयाँ, सल्लउदिनले २ जना पीडितबाट ७ लाख २० हजार रूपैयाँ र राजुले ३ जना पीडितबाट ८ लाख २५ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको प्रहरीले बताएको छ ।

पक्राउ पश्चात उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?