गृहसचिव दुवाडीद्वारा सशस्त्र प्रहरी प्रधान कार्यालयको निरीक्षण

लोकपथ
210
Shares

काठमाडौं । गृहसचिव गोकर्णमणि दुवाडीले बिहीबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुको निरीक्षण भ्रमण गरेका छन् । सो अवसरमा उनले सशस्त्र प्रहरी बल नेपालका राष्ट्रसेवक कर्मचारीहरुलाई निर्देशन दिनुका साथै सीमा सुरक्षा, विपद् उद्धार तथा व्यवस्थापन, समग्र शान्ति सुरक्षा व्यवस्थापनमा भए गरेका काम कारबाही र संगठनको समस्या र चुनौतीहरुका बारेमा जानकारी लिएका छन् ।

सो अवसरमा उनले सशस्त्र प्रहरी बल, नेपालले स्थापना भएको छोटो अवधिमै उल्लेख्य कार्य गर्न सफल भएको र देशमा शान्ति सुरक्षा, सुव्यवस्था तथा अमनचयन कायम गर्न सदैव क्रियाशील रुपमा कार्यसम्पादन गर्दै आइरहेको उल्लेख गरे । उनले सीमा सुरक्षामा सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रमअन्तर्गत शिक्षा, स्वास्थ्य, खानेपानी तथा पूर्वाधारलगायतका विविध क्षेत्रहरुमा गर्दै आइरहेका कार्य प्रशंसनीय रहेको बताए ।

गृहसचिव दुवाडीले सीमा सुरक्षामा तैनाथ सशस्त्र प्रहरी बलले राजश्व चुहावट तथा सीमा अपराध नियन्त्रण कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको उल्लेख गर्दै सदैव जनतालाई शान्ति सुरक्षाको अनुभूति दिलाउन सके मात्र कार्य क्षेत्रमा परिचालित भएको सार्थकता हुने बताए ।

सशस्त्र प्रहरी बल नेपालमा श्रोतसाधन तथा जनशक्ति व्यवस्थापन, कर्मचारीहरुको सेवा, सुविधा र वृतिविकासमा मन्त्रालयको सदैव साथ रहने बताउँदै उनले राज्यले सुम्पिएको जिम्मेवारीलाई इमान्दारिता र जवाफदेहितासहित थप प्रभावकारी रुपमा कार्यसम्पादन गर्न निर्देशनसमेत दिए ।

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले गृहसचिव दुवाडीबाट भएको निर्देशनलगायत नेपाल सरकारले अवलम्बन गरेका नीतिहरुलाई दृढताका साथ पालना गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले आफू परिचालित कार्यक्षेत्रमा इमान्दारितापूर्वक जिम्मेवारी निर्बाह गर्न सशस्त्र प्रहरी बलका सबै तहका कर्मचारीहरुलाई निर्देशन दिए ।

उनले सशस्त्र प्रहरी बल नेपालले राज्य प्रदत्त जिम्मेवारीहरुलाई इमान्दारिता र अनुशासनकासाथ अहोरात्र परिचालित भई राष्ट्र र आम नागरिकको सेवा, सुरक्षा, विपद् व्यवस्थापन तथा उद्धार लगायतका विविध जिम्मेवारीहरुमा परिणाममुखी कार्यसम्पादन गर्दै आइरहेको बताए ।

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले राज्यले दिएको प्रमुख जिम्मेवारीमध्ये सीमा सुरक्षामा सीमा स्तम्भको रेखदेख तथा मर्मत सम्भार, विभिन्न प्रकारका प्रभावकारी कार्यक्रमहरुका साथै लागूऔषध तथा राजश्व चुहावट नियन्त्रण कार्यमा उल्लेख्य भुमिका निर्वाह गर्दै आइरहेको र विओपीको लागि सशस्त्र प्रहरी बल, नेपाललाई जग्गा तथा भौतिक संरचनाको आवश्यकता रहेकोसमेत बताए ।

उनले संगठन तथा सशस्त्र प्रहरी कर्मचारीहरुको हकहितको लागि आवश्यक छलफल तथा राय सुझाव संकलन गरी कार्य गर्दै आइरहेको उल्लेख गर्दै सशस्त्र प्रहरीको सम्पूर्ण फौजलाई चेण्ड अफ कमाण्डमा रही सदैव इमान्दारिताकासाथ कार्यसम्पादन गर्न निर्देशन दिए ।

निरीक्षण भ्रमणकाक्रममा गृहसचिव दुवाडीले प्रधान कार्यालयस्थित Border Resource and Research Center, केन्द्रिय परिचालन कक्ष, एपिएफ म्युजियम र सशस्त्र प्रहरी बल नेपालद्धारा हाल प्रयोगमा ल्याइरहेका विपद् उद्धार सामाग्रीहरुको अवलोकन गर्नुकासाथै सशस्त्र प्रहरी बल नेपाल सम्बन्धी विविध गतिविधिहरुको समेत प्रस्तुतीकरण मार्फत जानकारी लिनुभएको थियो ।

कार्यक्रम देशभरका इकाईहरुमा ‘लाइभ भिडियो स्ट्रीमिङ’, इन्ट्रानेट तथा सशस्त्र प्रहरी संचारद्वारा प्रत्यक्ष प्रसारण गरी हेर्ने र सुन्ने ब्यवस्था मिलाईएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?