जलनको उपचारका लागि एक लाख आर्थिक सहयोग गर्ने मन्त्री पौडेलको घोषणा

लोकपथ
63
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले जलन रोगको उपचारका लागि पनि एक लाख आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेका छन् ।

शुक्रबार काठमाडौंको वीर अस्पतालमा डा. केडी जोशी जलन उपचार केन्द्रको शुभारम्भ गर्दै उनले जलन उपचारका लागि पनि तत्काल एक लाख आर्थिक सहयोग सरकारले उपलब्ध गराउने व्यवस्था गर्ने बताएका हुन् ।

सरकारले क्यान्सर, किड्नीलगायतका प्राणघातक रोगका बिरामीलाई उपचारका लागि एक लाख आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ । अब जलनका बिरामीका पनि त्यो व्यवस्था तत्काल गर्ने मन्त्री पौडेलको प्रतिबद्धता थियो ।

उनले उपचारको अभावमा जलन रोगीहरूको ज्यान जाने गरेकाले सरकारले त्यस्ता रोगीहरूको उपचारका लागि सो केन्द्र स्थापना गरेको स्पष्ट पारे । मन्त्री पौडेलले जलन रोगीको उपचारमा पनि आर्थिक सहायता दिनका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरिसकिएको पनि जानकारी दिए ।

उनले भने, ‘आम नागरिकले जलन उपचारका निम्ति सुविधा पाउने एउटा स्थिति वीर अस्पतालमा बनेको छ । खासगरी बाहिरबाट हेर्दा जलन उपचार नपाएर, उपचार गर्न नसकेर मृत्यु हुनेहरू पनि थुप्रै हुनुहुन्छ । जीवनभर शारीरिक अपाङ्गता व्यहोर्नुपर्नेहरु पनि थुप्रै हुनुहुन्छ । यो एउटा एक्सिडेन्टल समस्या हो । यो जानेर हुने कुरा होइन । त्यसकारण यसको उपचारलाई प्राथमिकतामा राखिनुपर्छ भनेर हामीले मन्त्रालय सम्हाले देखिनै यो ८ वटा रोगमा राज्यले जुन सुविधा दिएको छ । यो नवौँ उपचार सुविधा पाउने अवस्था बनाउन हामीले निरन्तर प्रयास गरेका छौँ ।’

त्यस अवसरमा वीर अस्पतालका निर्देशक डा।सन्तोष पौडेलले भूकम्पपछि सो सेवा बन्द भए पनि नेपाल सरकारले प्राथमिकता दिएपछि सो सेवा पुनः सञ्चालनमा ल्याउन सम्भव भएको बताएका थिए । उनले बिरामीहरूको चापलाई ध्यानमा राखेर वीर अस्पतालमा चारवटा फार्मेसीको व्यवस्था गरिएको पनि मन्त्री पौडेललाई जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?