काठमाडौं । कञ्चनपुरको बेदकोट नगरपालिका–४ बैतोडामा चौधर नदीले कटानी गर्न थालेपछि बस्ती नै जोखिममा पर्न थालेको छ । बिहीबारदेखिको निरन्तर वर्षासँगै नदीमा आएको बाढीले दुई दर्जन बढी परिवारको झन्डै तीन बिघा जग्गा कटानी गरी बगरमा परिणत गरेको छ । टोलकै ज्ञानज्योति बालविकास केन्द्रको जग्गासमेत कटानी गरेको छ ।
नदी तटीय क्षेत्रमा बसोबास गर्ने धनगिरी ओडले सात कट्ठा जग्गामा लगाइएको धानबालीसहित खेत बगाएको बताए । ‘थोरै जग्गा थियो, त्यै जग्गा पनि नदीले बगाएको छ, घरसमेत उच्च जोखिममा परेको छ,’ उनले भने । बाढीबाट जोगिन आफन्तको शरणमा जानुपर्ने अवस्था सृजना भएको ओडले बताए ।
यस टोलमा अधिकांश आर्थिक रूपमा विपन्न दलित समुदायका परिवारको बसोबास रहेको छ । तटबन्धको प्रबन्ध नहुँदा प्रत्येक वर्ष बाढीले यसरी नै जग्गा कटानी गर्दै आएको छ । यसै वर्षायाममा एक दर्जन बढी परिवारको जग्गा कटान भइसकेको समाजसेवी राजुराम सार्कीले बताए । ‘तटबन्ध निर्माणका लागि पटकपटक नगरपालिका कार्यालयलाई गुहार्दै आएका छौँ, अहिलेसम्म सुनवाइ हुन सकेको छैन,’ उनले भने । सार्कीकाअनुसार धेरै परिवारको जग्गा बगेको र बचेको जग्गा पनि बगरमा परिणत भएको छ । अब चाँडै तटबन्ध निर्माण नभए पूरै गाउँका बासिन्दाले विस्थापन हुनुपर्ने अवस्था रहेको उनी बताउँछन् ।
यसैगरी, कृष्णपुर नगरपालिका–२ बङ्कस्थित बादी समुदायको बस्ती रहेको प्रगति टोलमा वनहरा नदीले कटानी गरिरहेको छ । वनहरा विपद् व्यवस्थापन समितिका अध्यक्ष पदम रानाले नदीले धार परिवर्तन गरी बादी बस्तीतर्फ सोझिएर कटानी गर्न थालेको बताए । ‘दुई सय मिटर बाटो बगाई नदीले बस्तीको जग्गा कटानी गरिरहेको छ । रोकथामका लागि तत्काल केही उपाय नहुने हो भने धेरै समस्या निम्तिने देखिन्छ । त्यसैले सम्बन्धित निकायलाई तटबन्ध निर्माणका लागि आग्रह गर्दर्छौं,’ उनले भने ।
वडाअध्यक्ष अर्जुन साउदले बस्ती जोगाउन तटबन्ध निर्माणका लागि नगरपालिका, प्रदेश र संघीय सरकारको ध्यानाकर्षण गराइने बताए । उनले भने, ‘तटबन्ध निर्माण गर्न वडाको बजेटले धान्दैन, अन्य निकायलाई गुहार्नुको विकल्प छैन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया