काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडक खण्डको सिमलतालबाट आज आइतबार बिहान त्रिशूली नदीमा खसेको खाने तेल बोकेको ट्रकसम्बन्धी घटनालाई प्रहरीले शंकास्पद भनेको छ ।
ना ६ ख ६२८३ नम्बरकोे ट्रक सिमलतालबाट त्रिशूलीमा खसेको थियो । सो ट्रक २२ सय २५ कार्टुन सूर्यमुखी तेल बोकेर भैरहवाबाट ललितपुर आउँदै गरेको खुलेको छ । ट्रकको पूरै भाग त्रिशूलीमा नडुबेका कारण कागजात फेला पार्न सकिएको प्रहरीले जनाएको छ ।
सो घटनापछि ट्रकका चालक र सहचालक सम्पर्कविहीन छन् । चालक यमबहादुर घले मोबाइल अफ गरेर सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले बताए । उनले दुर्घटना शंकास्पद रहेकाले त्यो पाटोबाट पनि अनुसन्धान गर्नुपर्ने देखिएको बताए ।
डीएसपी रिजालले भने, ‘राति करिब ८ बजेतिर उक्त ट्रक त्यहीँ सिमलतालनेर रोकिएको देखिएको थियो । राति जुन ठाउँमा रोकिएको देखिएको थियो, त्यहाँबाट थोरै अगाडि बढेर ट्रक तल खसेको पाइएको छ ।’
उनले ट्रकमा २२ सय २५ कार्टुन सूर्यमुखी तेल भएको कागजात फेला परेपनि दुर्घटनापछि भेटिएको ट्रकमा आधा जति पनि तेल नभएको बताए । त्यहाँ तेल पोखिएको वा खसेको निशान पनि नभएकाले प्रहरीले दुर्घटनालाई शंकास्पद मानेको उनले बताए ।
सोही स्थानमा गत असार २८ मा दुईवटा बस त्रिशूलीमा खसेर बेपत्ता भएका थिए । बेपत्ता बसमा सवार झण्डै ३५ जनाको अवस्था अझै अज्ञात छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया