डेडिकेटेड र ट्रंकलाइनको २२ अर्ब बक्यौता उठाउन माग गर्दै सर्वोच्चमा रिट (पूर्णपाठ)

लोकपथ
112
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड र ट्रंकलाइनको सुविधा लिइ बक्यौता नतिर्ने उद्योगी तथा नेपाल विद्युत प्राधिकरण र प्रधानमन्त्री केपी शर्मा ओली लगायतलाई विपक्षी बनाइ सर्वोच्चमा रिट परेको छ ।

अधिवक्ता यज्ञमणी न्यौपाने लगायतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, उर्जा तथा जलस्रोत मन्त्रालय, बक्यौता नतिर्ने उद्योगी व्यवसायीहरु लगायतलाई विपक्षी बनाइ अन्तरिम आदेशको मागसहित सर्वोच्चमा रिट दायर गरेका हुन् ।

नेपाल विद्युत प्राधिकरणबाट डेडिकेटेड र ट्रंकलाइन मार्फत विद्युत आपूर्ती गरे पनि त्यसबापतको रकम बुझाउन विभिन्न ठुला उद्योगीहरुले आनाकानी गरिरहेका छन् । नेविप्राका अनुसार २२ अर्ब बक्यौता उठ्न बाँकी रहेकामा प्राधिकरणले ताकेता गर्दा पनि तिर्न आनाकानी गरिरहेका हुन् ।

गत असार २५ गते प्राधिकरणले विभिन्न ६ उद्योगको लाइन काटेको थियो । बक्यौता नतिर्ने रिलायन्स स्पिनिङ मिल, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा स्टिल, जगदम्बा सेन्थेटिक र हुलास स्टिल गरी ६ उद्योगको लाइन काटेको हो । तर प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा ती उद्योगहरुमा बिजुली जोडिएको थियो । तीन महिनामा नियमानुसार बक्यौता तिर्ने सर्तमा बिजुली जोडिएको थियो ।

सोही विषयलाई लिएर सरकार र विद्युत प्राधिकरणबीच घम्साघम्सी चलिरहेका बेला बक्यौता तिर्न आनाकानी गर्ने उद्योगी व्यवसायीहरुबाट बक्यौता असुलउपर गर्न माग गर्दै कानुन व्यवसायीहरु न्यायालय पुगेका हुन् ।

कानुन रिट निवेदककर्ताहरुले यसअघि उद्योगीहरुलाई बक्यौता नतिर्न सहज बनाउने ओली नेतृत्वको मन्त्रिपरिषद्को निर्णय, आदेश, पत्र लगायतलाई यथास्थितीमा राखि बाँकी बक्यौता रकम असुल उपरका लागि अन्तरिम आदेशको माग गरेका छन् ।

‘…डेडिकेटेड र ट्रंक लाइन तथा फिडर लाइन प्रयोग गरेका कम्पनी उद्योगी व्यवसायी, संस्था तथा व्यक्तिहरुबाट हालसम्मको नेपाल विद्युत प्राधिकरणको बक्यौता रकम नबुझाउने गरी विपक्षी मन्त्रिपरिषद् लगायत अन्य विपक्षीहरुबाट भएका गैरकानुनी निर्णय, आदेश, पत्र, पुर्जी, लगायत जेजे छन् । ती पत्र, आदेश, पुर्जी यथास्थीतिमा राख्नु साथै अभिलम्ब नेपाल विद्युत प्राधिकरणको बक्यौता रकम असुल उपर गर्नु गराउनु भनी सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ (१) बमोजिम अन्तरिम आदेश जारी गरी पाउँ,’ रिट निवेदनमा भनिएको छ ।

उक्त रिटको पेसी भोलिका लागि तोकिएको रिट निवेदककर्तामध्येका एक यज्ञमणी न्यौपानेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?