काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता शंकर भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संयमता अपनाउन आग्रह गरेका छन् ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) माथि ओलीको टिप्पणीलाई लिएर नेता भण्डारीले संयमता अपनाउन आग्रह गरेका हुन् ।
शनिबार एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले बालेनलाई मनपरी बोल्ने केटो भन्दै टिप्पणी गरेका थिए । आज विज्ञप्ति जारी गर्दै सांसद समेत रहेका भण्डारीले प्रधानमन्त्री देशको अभिभावक भएको स्मरण गराउँदै कसैको हुर्मत नलिन आग्रह गरेका हुन् ।
‘काठमाडौं महानगरका मेयरलाई जनताले निर्वाचित गरेका हुन्, काठमाडौं महानगरलाई व्यवस्थित बनाउनका लागि उनी क्रियाशील नै देखिन्छन् । केही समस्या भए प्रधानमन्त्रीले अभिभावकत्व लिने, बोलाएर छलफल गर्ने, हुर्मत लिने तथा आलोचना गर्न सिंगो पार्टीपंक्तिलाई निर्देशन दिने विषय त्यति सुहाउँदो लागेन । देशको एक जिम्मेवार नेता एवम् प्रधानमन्त्रीको पदमा आसिन व्यक्ति भएकाले वहाँ राष्ट्रिय हितका विषयमा पार्टीगत स्वार्थभन्दा माथि उठ्न राम्रो हुने व्यहोरा सविनय अनुरोध गर्दछु,’ जारी विज्ञप्तिमा भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया