१० वाणिज्य बैंकले घटाए निक्षेपको ब्याजदर, सबैभन्दा कम ब्याज दिनेमा सानिमा बैंक

लोकपथ
70
Shares

काठमाडौं । अधिकांश वाणिज्य बैंकहरूले असोज महिनाका लागि पनि निक्षेपको ब्याजदर घटाएका छन् । २० वाणिज्य बैंकमध्ये १० वटाले निक्षेपको ब्याजदर घटाउँदा ८ बैंकले स्थिर राखेका छन् भने दुई वटा बैंकले बढाएका छन् ।

राष्ट्र बैंकको व्यवस्थाअनुसार अघिल्लो महिनाको अन्तिम दिन नै पछिल्लो महिना लागु हुने ब्याजदर प्रकाशन गर्नुपर्छ ।

व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाउनेमा नेपाल एसबीआई, कुमारी, प्राइम, सानिमा, सिटिजन्स, नबिल, राष्ट्रिय वाणिज्य बैंक, एनएमबी, एनआईसी एसिया र एभरेस्ट छन् ।

यी बैंकले अधिकतम औसत ब्याजदर भदौको तुलनामा असोजमा ०.१५ प्रतिशत विन्दुले घटाएका हुन् । भदौमा यी बैंकको व्यक्तिगत मुद्दतीमा अधिकतम औसत ब्याजदर ६.५४ प्रतिशत रहेको थियो । असोजमा ६.३९ प्रतिशतमा झारिएको छ । यसअघि साउनमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ६.७३ प्रतिशत थियो ।

असोज महिनामा व्यक्तिगत मुद्दतीमा सबैभन्दा धेरै ब्याज दिनेमा एनआईसी एसिया बैंक छ । जसले अधिकतम ७.१८ प्रतिशत ब्याज दिनेछ । यसअघि भदौमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ७.४१ प्रतिशत थियो । जुन एनएमबी र एनआईसी एसिया बैंकले दिएका थिए ।त्यस्तै असोजमा व्यक्तिगत मुद्दतीमा न्यूनतम ब्याजदर भने सानिमाको ५.९ प्रतिशत छ ।

त्यस्तै, ग्लोबल आईएमई, नेपाल इन्मेस्टमेन्ट मेगा, सिद्धार्थ, स्टान्डर्ड चार्टर्ड, लक्ष्मी सनराइज, माछापुच्छ्रे, प्रभु र हिमालयन बैंकले स्थिर राखेका छन् । कृषि विकास र नेपाल बैंकले व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर भने भदौको तुलनामा बढाएका छन् ।

आइतबार १ खर्ब रुपैयाँ तरलता खिचेको राष्ट्र बैंकले सोमबार ५० अर्ब रुपैयाँ तरलता खिच्दैछ । पर्याप्त तरलता रहेकाले निक्षेपको ब्याजदर घट्दो क्रममा देखिएको नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले जानकारी दिए ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले नीतिगत दर ५ प्रतिशतमा झारेको छ । ब्याजदर करिडोरको माथिल्लो सीमा ६.५ प्रतिशत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?