सहकारी ठगी प्रकरण : छानबिन समितिको प्रतिवेदनमा रवि दोषी, यी हुन् आधार

लोकपथ
329
Shares

काठमाडौं । सहकारी ठगी प्रकरणको छानबिनका लागि गठित संसदीय छानबिन समितिले आज प्रतिवेदन बुझाउँदैछ ।

आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा समितिले उक्त प्रतिवेदन बुझाउन लागेको हो ।

छानबिन समितिको प्रतिवेदनमा पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका रास्वपाका सभापति सहकारी ठगी प्रकरणमा दोषी देखाएका छन् । तत्कालीन गोरखा मिडिया नेटवर्क प्रालिका प्रबन्ध निर्देशक रहेका लामिछानेले सहकारीको रकम अपचलन गरेको छानबिन समितिको प्रतिवेदनले देखाएको हो ।

विभिन्न सहकारीबाट गोरखा मिडिया नेटवर्ककका अध्यक्ष गितेन्द्रबाबु राई (जीबी राई) ले ल्याएको र कम्पनीका नाममा लामिछानेले ती पैसाको दुरुपयोग गरेको तथ्य छानबिन समितिले देखाएको माओवादी सांसद एवं समितिका सदस्य लेखनाथ दाहाल ‘राजन’ ले लोकपथलाई जानकारी दिए ।

दाहालका अनुसार लामिछानेले गोरखा मिडिया प्रालिबाट सञ्चालित ग्यालेक्सी टेलिभिजनबाट बाहिरिँदा स्वेट शेयर (पसिनाको मूल्य बराबरको शेयर) लिएको भनिए पनि त्यसमा समेत कैफियत देखिएको हो ।

‘लामो अनुसन्धानपछि छानबिन समितिले आज प्रतिवेदन बुझाउँदैछ । उक्त प्रतिवेदनमा पूर्व गृहमन्त्री रवि लामिछाने समेत सहकारी ठगी प्रकरणमा दोषी देखिनुभएको छ । विभिन्न सहकारीबाट आएको करोडौँ रकम हिनामिनामा अन्य व्यक्तिसँगै उहाँको समेत संलग्नता देखिएको हो,’ दाहालले लोकपथसँग भने ।

सहकारी ठगी प्रकरणमा जोडिएको भन्दै तत्कालीन प्रमुख प्रतिपक्षी दल (हालको सत्तापक्ष) नेपाली कांग्रेसले संसद्मा निरन्तर अवरोध गरेपछि गत जेठ १५ गते एमाले सांसद सूर्य थापाको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो ।

गत राति अबेरसम्म बसेको समितिको बैठकले प्रतिवेदनलाई अन्तिम रुप दिएको हो । उक्त प्रतिवेदनमा सबै सदस्यहरुले हस्ताक्षर गर्न भने बाँकी छ । आजै हस्ताक्षर गरेर बुझाउने तयारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?