संसद्मा छानबिन समितिको प्रतिवेदन पेस भएपछि रवि लामिछानेले के भने ?

लोकपथ
322
Shares
फाइल तस्बिर

काठमाडौं । पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका रास्वपाका सभापति रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको पुष्टि भएको बताएका छन् ।

सोमबार बसेको प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग बोल्दै उनले सो कुरा बताएका हुन् । आजको बैठकमा सहकारी ठगी प्रकरणको छानबिनका लागि गठित समितिले तयार पारेको प्रतिवेदन संसद्मा पेस गरिएको थियो ।

बैठकपछि बोल्दै उनले गोरखा मिडिया नेटवर्कद्वारा सञ्चालित ग्यालेक्सी टेलिभिजनमा प्रबन्ध निर्देशक रहेर काम गरे पनि आफूलाई लगानीका बारेमा कुनै जानकारी नभएको बताए । साथै प्रबन्ध निर्देशक भए पनि लगानीका बारेमा चासो राख्ने आफूलाई अधिकार नभएको र त्यसमा संलग्न नभएको बताए ।

‘त्यो (लगानी) ल्याउनमा मेरो भूमिका छैन भन्ने स्पष्ट भइहाल्यो । लगानीकर्ताले ल्याएको रकमको स्रोत हेर्ने अथोरिटी मलाई हुँदैन । लगानीकर्ताले कस्तो रकम ल्यायो, सहि थियो गलत थियो हेर्ने निकायहरु छन्,’ उनले भने ।

त्यस्तै सहकारीको करोडौ रकम डुबेर नागरिकहरुको बिचल्ली भएको र अब छानबिन समितिको प्रतिवेदनपछि दोषीलाई कारबाही भएपछि उनीहरुले न्याय पाउने समेत बताए ।

‘आज यो चिजहरुको प्रतिक्षा लाखौं बचतकर्ताहरु गरिरहेका छन् जसको लगानी डुबेको छ, जसले विवाह गर्न पाएनन्, उपचार गर्न पाएनन, पढाउन पाएनन् आफ्ना बालबालिकालाई। मैले त बोल्न अवसर पाएँ। ती साथीहरु, ती परिवारहरुमाथि कति अन्याय भयो होला,’ उनले भने ।

छानबिन समितिले गोरखा मिडिया नेटवर्ककको तत्कालीन एमडी भएका कारण लामिछानेले विभिन्न सहकारीबाट रकम निकाल्नका लागि संलग्न रहेको प्रतिवेदन तयार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?