काठमाडौं । विगत ३ वर्षदेखि लगातार डेंगुको सङ्क्रमण भोगिरहेको नेपालमा यस वर्ष पनि डेंगुको सङ्क्रमण तीव्र रूपमा फैलिँदा ६ जनाको मृत्यु भएको छ । भदौ २७ गतेसम्मको तथ्याङ्क अनुसार कुल ९ हजार ४८६ जना सङ्क्रमित हुँदा ६ जनाले डेंगु सङ्क्रमणका कारण ज्यान गुमाएका छन् ।
स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार अहिले हुम्ला जिल्लाबाहेक अन्य सबै जिल्लामा डेंगु सङ्क्रमण देखिएको छ । एक साता अघिसम्म मुस्ताङ जिल्लामा समेत सङ्क्रमण नदेखिएकामा अहिले भने मुस्ताङ जिल्लामा पनि एक जनामा सङ्क्रमण देखिएको छ ।
सन् २०२४ को जनवरीबाट सुरु भएको डेंगु सङ्क्रमण फेब्रुअरी महिनामा केही कम भएको थियो । तर गर्मी बढेसँगै मार्च महिनाबाट बढ्न सुरु गरेको डेंगु जुलाई महिनामा ह्वात्तै बढेको थियो । अगष्ट महिनामा जुलाईको तुलनामा ४ गुणा बढेको डेंगु सेप्टेम्बर महिनाको १३ तारिकसम्मको तथ्याङ्क हेर्दा अगष्ट महिनामा जत्तिकै हुने सम्भावना देखिन्छ ।
असार साउन महिनामा पानी पर्ने र पानी जमेको स्थानमा लामखुट्टेले फुल पार्ने तथा बढी सक्रिय हुने भएकाले असार, साउन र भदौ महिनामा सङ्क्रमण बढी भएको देखिन्छ । सन् २०२४ को जनवरीमा २४३ जनामा सङ्क्रमण भएकामा फेब्रुअरीमा घटेर १८१ जनामा सङ्क्रमण भएको थियो । मार्चमा बढेर २०८ जना पुगेकामा त्यसपछि क्रमशः बढेर अप्रिलमा २२६, मे मा २६६, जुनमा ३६५, जुलाईमा ११३१, अगष्टमा ४२३३ पुगेको थियो । सेप्टेम्बर महिनाको १३ तारिकसम्म मात्रै २,६३३ जनामा सङ्क्रमण पुष्टि भएकाले सेप्टेम्बर महिनामा अझै बढ्ने सम्भावना देखिन्छ ।
हेर्नुहोस्, महिना अनुसारको फ्लोरिस चार्ट ।
स्वास्थ्य सेवा विभाग मातहतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)का अनुसार सबैभन्दा धेरै डेंगुका बिरामी गण्डकी प्रदेशमा देखिएका छन् । गण्डकी प्रदेशमा भदौ २७ गतेसम्मको अवधिमा डेंगुबाट सङ्क्रमित हुनेको सङ्ख्या ४ हजार ५३९ जना पुगेको छ । गण्डकी जिल्लाभित्र पनि सबैभन्दा बढी तनहुँ जिल्लामा सङ्क्रमित देखिएका छन् । तनहुँ जिल्लामा १ हजार ४३५ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । गण्डकीपछि पर्यटकीय गन्तव्य पोखरासमेत रहेको कास्की जिल्लामा १ हजार ३१८ जनामा सङ्क्रमण देखिएको छ । कास्कीपछि पर्वत जिल्लामा बढी अर्थात् ८८० जनामा डेंगु सङ्क्रमण पाइएको छ । गण्डकी प्रदेशका अन्य जिल्लाहरूमा गोरखामा ३२७, स्याङ्जामा १६८, बागलुङमा १४७, लमजुङमा ९३, नवलपुरमा ८५, म्याग्दीमा ८३ तथा मनाङ र मुस्ताङमा क्रमशः २ र १ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेशपछि बागमती प्रदेश डेंगु सङ्क्रमणबाट बढी प्रभावित भएको छ । बागमती प्रदेशको काठमाडौंमा ८७१ जनामा सङ्क्रमण पुष्टि भएको छ । काठमाडौंपछि चितवनमा ६२८ जनामा सङ्क्रमण पुष्टि भएको छ भने ललितपुरमा २१६ जना सङ्क्रमित भएका छन् । त्यसै गरी मकवानपुरमा १४५, काभ्रेपलान्चोकमा १३०, भक्तपुरमा १२९, सिन्धुपाल्चोकमा ८५, नुवाकोटमा ७४ तथा धादिङमा ६८ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
हेर्नुहोस्, कुन जिल्लामा कति छ डेंगु सङ्क्रमण (इन्फोग्राफिक्स)
त्यसै गरी बागमती प्रदेशकै सिन्धुलीमा ३८, रामेछापमा ३५, दोलखामा २७ र रसुवामा ७ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । गत वर्ष बढी प्रभावित बनेको बागमती प्रदेशको धादिङ यस पटक नियन्त्रित देखिएको छ । बागमती प्रदेशमा कुल २ हजार ४५३ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
बागमतीपछि कोसी प्रदेशमा पनि सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । कोसी प्रदेशमा कुल १ हजार २७ जनामा डेंगु सङ्क्रमण पुष्टि हुँदा झापा जिल्लामा सबैभन्दा बढी १८९ जनामा सङ्क्रमण देखिएको छ । झापापछि पहाडी जिल्ला भोजपुरमा १२२ जनामा सङ्क्रमण देखिएको छ ।
गत वर्ष बढी प्रभावित बनेको मधेस प्रदेश भने यसवर्ष नियन्त्रित देखिन्छ । मधेस प्रदेशमा हालसम्म १८० जनामा मात्रै सङ्क्रमण देखिएको छ । मधेस प्रदेशमा सबैभन्दा बढी रौतहट र बारा जिल्लामा समान ३४ जनामा सङ्क्रमण देखिएको छ ।
सङ्क्रमण बढी देखिएको अर्को प्रदेशमा सुदूरपश्चिम प्रदेश रहेको छ । सुदूरपश्चिम प्रदेशमा कुल ५०४ जनामा सङ्क्रमण पुष्टि हुँदा कैलाली बढी प्रभावित देखिएको छ । कैलाली जिल्लामा १८० जनामा सङ्क्रमण देखिएको छ भने कञ्चनपुरमा ७० जनामा सङ्क्रमण पुष्टि भएको छ ।
किन बढ्दैछ डेंगु सङ्क्रमण ?
डेंगु संक्रण बढ्दै जानुमा मुख्यतः तापक्रम बढ्नु र वर्षा याममा पानी जम्नु नै मुख्य कारण रहेको जनस्वास्थ्यविद्ले बताएका छन् । त्यसबाहेक जलवायु परिवर्तनका कारण तापक्रममा आएको वृद्धि, फोहोर, जनघनत्वमा वृद्धि, अव्यवस्थित सहरीकरण, वर्षाको मौसम तथा डेंगुका कीटाणु कम तापक्रममा समेत बाँच्न सक्ने (रेसिस्टेण्ट) नै मुख्य कारण हुन् ।
कसरी फैलन्छ डेंगु ?
लामखुट्टेको टोकाइबाट नै डेंगु सर्छ । यो सरुवा रोगसमेत हो । डेंगु लागेको व्यक्तिलाई टोकेर उक्त लामखुट्टेले पुनः अर्को व्यक्तिलाई टोकेमा डेंगु सर्न सक्छ । एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक पोथी लामखुट्टेको टोकाइबाट नै यो रोग सर्छ । लामखुट्टे सामान्यतः १० देखि ४० डिग्री सेल्सियससम्मको तापक्रममा बाँच्न सक्दछ ।
लामखुट्टेको आयु अधिकतम ४० दिनसम्म मात्रै हुने भए पनि लामखुट्टेको पारेको अण्डा भने उचित तापक्रम पाउँदा वर्षौँसम्म बाँच्न सक्छ । त्यही अण्डाबाट अनुकूल समयमा लार्भा बन्छ र लार्भा बनेको ७ देखि १० दिनको समयमा उक्त लार्भा वयस्क लामखुट्टे बन्न सक्छ । डेंगुको कीटाणु बोकेको लामखुट्टेले टोकेमा डेंगु सङ्क्रमण हुन सक्छ । डेंगु सार्ने लामखुट्टेले भने दिनको समयमै मात्रै टोक्ने गर्छ ।
डेंगु सङ्क्रमणको लक्षण
एक्कासि ज्वरो आउनु डेंगु सङ्क्रमणको लक्षण हुन सक्छ । यस्तो ज्वरो ५ देखि ७ दिनसम्म आउन सक्छ र ज्वरो १०४ डिग्रीसम्म आउन सक्छ । डेंगु लागेको व्यक्तिमा रक्तकोष घट्न जान्छन् र रक्तकोषको कमीका कारण रोग प्रतिरोधात्मक क्षमतामा कमी आउँछ । जस कारण डेंगु लागेको बिरामी अति कमजोर हुने गर्दछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया