दसैँ तिहारमा चुस्त सेवा दिन निगमका कर्मचारीलाई बिदा र भ्रमणमा रोक

लोकपथ
112
Shares

काठमाडौं । नेपाल वायुसेवा निगमले दसैँ तिहार जस्ता चाडपर्वमा यात्रुहरूलाई सहज सेवा दिनुपर्ने भएकाले कर्मचारीको बिदामा कडाइ गर्ने भएको छ । मङ्गलवार निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले अत्यावश्यक अवस्थामा बाहेक कसैलाई पनि बिदा नदिन मातहत विभागलाई निर्देशन दिएका हुन् ।

चाडपर्वका बेलामा नेपालीहरू घर फर्किने र त्यस लगत्तै गन्तव्य मुलुक जाने भएकाले त्यस समयमा सेवा चुस्त र दुरुस्त राख्नुपर्ने भन्दै अत्यावश्यक अवस्थामा बाहेक कसैलाई पनि बिदामा नबस्न आग्रह गरिएको छ भने बिदा स्वीकृत गर्ने समयमा विचार पु-याउन मातहत विभागलाई निर्देशन दिएको छ । यस अवधिमा अत्यावश्यक बाहेक कुनै पनि तालिम, भ्रमण आदिमा नजान र नपठाउन समेत मातहत विभागहरूलाई निर्देशन दिइएको छ ।

चाडपर्वका बेलामा नेपाल वायुसेवा निगमका विमानबाट सबै गन्तव्यहरूमा नियमित उडान गर्ने र यात्रुलाई सहज सेवा दिन के कसरी व्यवस्थापन गर्न सकिन्छ भनी ६० दिनका लागि कार्य योजना तयार पारी २४ घण्टाभित्र पेस गर्नसमेत विभागहरूलाई निर्देशन दिएको छ । कार्यकारी अध्यक्ष अधिकारीले निगमका नायब महाप्रबन्धक, इन्जिनियरिङ मेन्टेनेन्स विभाग, कन्टिन्युइङ एयर वोर्दिनेस विभाग, क्वालिटी एस्सोरेन्स विभाग र बजार व्यवस्थापन विभागका विभागीय प्रमुखहरूसँग कार्य योजना माग गरेका हुन् ।

नेपाल वायुसेवा निगमसँग हाल दुई वटा वाइडबडी र दुई वटा न्यारोबडी विमानबाट अन्तर्राष्ट्रिय उडान हुने गरेको छ । तर अहिले एउटा वाइडबडी विमान मर्मतका लागि इटालीमा रहेको कारण अहिले दुई वटा न्यारोबडी र एउटा वाइडबडी विमानबाट मात्रै उडान भइरहेको छ । न्यारोबडी विमानबाट छोटो गन्तव्यमा उडान भइरहेकामा वाइडबडी विमान मर्मत भई आएपछि जापानको उडान समेत सुरु गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?