सहिद स्मृतिसँग पशुपति युवा क्लब ५–२ गोलकाे अन्तरले पराजित 

लोकपथ
42
Shares

हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकाको सहिद स्मृति क्लब जिल्ला लिग फुटबल प्रतियोगिता अन्तर्गत समूह ‘घ’ को शीर्षस्थानमा पुगेको छ ।

५ खेलबाट ११ अंक जोड्दै सहिद स्मृतिले समूहको शीर्षमा स्थान बनाएको हो । सिमलटार खेल मैदानमा पाँचौँ खेल खेल्ने क्रममा सहिद स्मृतिले पशुपति युवा क्लब हेटौँडालाई ५–२ ले हरायो ।

सहिद स्मृतिका लागि उप्रान्त आलेले २ गोल गर्दा किरण घिसिङ, अरुण आले र रमेश थिङले समान एक–एक गोल गरेका हुन् । 

यता पशुपतिको तर्फबाट अनमोल मोक्तानले २ गोल गरेका हुन् । खेलको म्यान अफ द म्याच सहिद स्मृतिका उप्रान्त आले घोषित भए । 

यही समूह अन्तर्गत भएको अर्को खेलमा मनहरी गाउँपालिकाको हाँडीखोला यूथ क्लबले युनाइटेड नाइन हेटौँडासँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ । 

हाँडीखोलाले पहिलो हाफमा र युनाइटेडले दोस्रो हाफमा गोल गर्ने केही राम्रो मौकाहरू खेर फालेको थियो । योसँगै हाँडीखोलाको ८ र युनाइटेड नाइनको २ अंक भएको छ । खेलको म्यान अफ द म्याच युनाइटेडका सुरेश लामा घोषित भए । 

त्यसैगरी, गौरीटार रंगशालामा भएको यही समूह अन्तर्गतको खेलमा प्रतिभा क्लबले एफसी चाइनाक्वाटरलाई ३–० ले हरायो । प्रतिभाले पहिलो हाफमा एक र दोस्रो हाफमा २ गोल गरेको हो ।

शोभित वाइबाले १५औँ मिनेटमा गोल गर्दै प्रतिभालाई अग्रता दिलाएका हुन् । ५६औँ मिनेटमा सुनिल थिङले अग्रता दोब्बर पारे । ८०औँ मिनेटमा वाइबाले नै टिमको लागि तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गरेका हुन् ।

२ गोल गरेका वाइबा नै खेलको म्यान अफ द म्याच घोषित भएका छन् । गौरीटार रंगशालामै भएको अर्को खेलमा एफसी इन्टरनेटले एफसी पोतालालाई २–० ले हरायो । 

इन्टरनेटका लागि २८औँ मिनेटमा मिलन काफ्लेले पहिलो गोल गरेका हुन् । ७५औँ मिनेटमा काफ्लेले नै अग्रता दोब्बर बनाए । खेलको म्यान अफ द म्याच २ गोल गरेका काफ्ले नै घोषित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?