बैतडीमा भाइरल ज्वरोका बिरामी बढे

लोकपथ
63
Shares

बैतडी । मौसममा आएको परिवर्तनसँगै बैतडीका गाउँगाउँमा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् । पछिल्लो केही सातायता जिल्लाभरिका स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामीको चाप बढेको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपिन लेखकले जानकारी दिए। 

‘मौसममा आएको परिवर्तनसँगै जिल्लाका गाउँगाउँमा भाइरल ज्वरोको बिरामी बढेको छ । जिल्ला अस्पतालमा उपचारका लागि आउने बिरामीमध्ये सबैभन्दा बढी भाइरल ज्वरोका बिरामी हुने गरेका छन्’,उनले भने ।

अस्पातलका सूचना अधिकारी चन्द्र डोबालका अनुसार पहिलेको तुलनामा हाल भाइरल ज्वरोका बिरामी बढेका छन् । उपचारका लागि आउने बिरामीमध्ये ६० प्रतिशत भन्दा बढीमा भाइरल ज्वरो देखिएको छ । यसमा पनि टाइफाइड, श्वासप्रश्वास, डेंगु स्क्रब टाइफसलगायत समस्या भएका बिरामी आउने गरेका उनले बताए ।

मौसम परिवर्तनका साथै अस्वस्थकर खानपिनले पनि भाइरल ज्वरोको संक्रमण बढेको श्रीकोट स्वास्थ्य चौकीका इन्चार्ज वीरसिंह भाटले बताए । उनले भने, ‘स्वास्थ्यचौकीमा उपचार गर्न आउने बिरामीमा भाइरल संक्रमण देखिने गरेको छ । ज्वरोका बिरामीमा अन्य संक्रमण पनि हुनसक्ने भएकाले परीक्षण गरेर मात्रै औषधि दिने गरेका छौँ ।’ 

पछिल्लो समय जिल्लामा भाइरल ज्वरोका साथै टाइफाइड, स्क्रब टाइफस, डेंगुलगायतका बिरामी फेला परिरहेका जिल्लास्थित स्वास्थ्य कार्यालयका प्रमुख तीर्थराज भट्टले जानकारी दिए । ज्वरोका बिरामीले स्वास्थ्य संस्थामा जाँच गराएर मात्रै औषधि सेवन गर्न उनले सर्वसाधरणलाई आग्रह गरे।

प्रमुख भट्टले ज्वरोका बिरामीले मेडिकलबाट आफूखुसी औषधि किनेर प्रयोग गर्ने भएकाले यसले थप समस्या हुने भएकाले चिकित्सकको सल्लाह अनुसार मात्र औषधि सेवन गर्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?