पोखरामा भलिबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख ३० हजार

लोकपथ
0
Shares

पोखरा । पोखराको नदीपुरमा ८औँ क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ ।

पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा हुन गइरहेको प्रतियोगिता यही असोज ९ गते देखि १३ गतेसम्म नदीपुरस्थित छन्त्याल समाजको खेल मैदानमा हुने प्रतियोगिताका संयोजक मनोज खड्काले बताए ।

संयोजक खड्काका अनुसार पुरुषतर्फ बढीमा १२ समूह सहभागी हुनेछन् । विजेता पुरुष समूहले १ लाख ३० हजार र उपविजेताले ८० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यसैगरी महिलातर्फ स्थानीय सहित करिब १० क्लबले सहभागिता जनाउने अपेक्षा गरिएको बताउँदै विजेता समूहले ५० हजार रुपैयाँ र उपविजेताले ३० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

पुरुषतर्फ सहभागी समूहले ३ जनासम्म राष्ट्रिय खेलाडी र महिलातर्फ समूहमा २ जना राष्ट्रिय खेलाडी समावेश गर्न पाइने संयोजक खड्काले जानकारी गराएका थिए ।

प्रशिक्षण केन्द्रका संरक्षक तथा शारीरिक सुगठनका पूर्वराष्ट्रिय खेलाडी पदम श्रेष्ठले स्थापनाकालदेखि हालसम्म पोखरा भलिबल प्रशिक्षण केन्द्रले भलिबल प्रशिक्षण गराउनुका साथै वर्षेनी प्रतियोगिताको कार्यक्रम गर्दै आइरहेको जानकारी गराए । उनले विगतका वर्षहरुमा भएका प्रतियोगिताबाट बचत रकम दिनदुखी, असहाय, गरिब, वृद्ध तथा अनाथहरुलाई सहयोग गरेको बताए ।

त्यसैगरी, खेलकुदको माध्यमबाट उत्कृष्ट खेलाडी उत्पादन गर्नुका साथै आपसी भाइचारा र सद्भावको विकास गर्न क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता–२०८१ आयोजना गरिएको प्रशिक्षण केन्द्रका अध्यक्ष कुलप्रसाद छन्त्याल (कुशल)ले जानकारी गराए ।

अन्तर्राष्ट्रिय रेफ्रि टहलसिंह थापा मगरले प्रतियोगितालाई भव्य रूपमा सम्पन्न गर्न आफूले पूर्ण रूपमा सहयोग गर्ने धारणा व्यक्त गरेका थिए । सहआयोजक एफोर जेड ग्राफिक डिजाइन एण्ड प्रिन्टिङ प्रेस र विशेष सहयोगी छन्त्याल ब्रदर्श, नदीपुर रहेको छ ।

अघिल्लो वर्ष सातौँ वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगितामा पुरुष तर्फ गल्कोट स्पोर्ट क्लब र महिला तर्फ धादिङ स्पोर्ट क्लब विजयी बनेका थिए । प्रशिक्षण केन्द्रका अध्यक्ष कुलप्रसाद छन्त्याल (कुशल) को अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सञ्चालन अशोक थापाले गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?