फाइनान्स डाइरेक्टरले भने ‘सेयर बिक्रीको जानकारी नै थिएन’

यसरी भएको थियो कोकाकोलाको पुँजीगत लाभकर छली

काठमाडौं । बहुराष्ट्रिय कम्पनी कोकाकोलाको पुँजीगत लाभकर छली प्रकरणमा संलग्नहरु विरुद्ध राजश्व अनुसन्धान विभागले उच्च अदालत पाटनमा दायर गरेको राजश्व छलीको मुद्दा अहिले पनि विचाराधीन अवस्थामै रहेको छ । कोकाकोलाले कुल १ अर्ब २४ करोड १९ लाख ८८ हजार ८६२ रुपैयाँ पुँजीगत लाभकर छली गरेको ठहर गर्दै सो रकममा ब्याज, जरिवानालगायतका सबै रकम जोडेर कुल ३ अर्ब ७१ करोड ८१ लाख ५० हजार ४११ रुपैयाँ बिगो कायम गरी राजश्व अनुसन्धान विभागले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो ।

कोकाकोलाको पुँजीगत लाभकर छली प्रकरणमा १७ व्यक्ति र एक प्राकृतिक व्यक्ति अर्थात् कम्पनीसमेतलाई प्रतिवादी कायम गरी मुद्दा चलाइएको थियो । सोही मुद्दामा प्रतिवादी बनाइएका वित्त निर्देशक अशोककुमार मण्डलले राजश्व अनुसन्धान विभागलाई बयान दिने क्रममा कोकाकोलाको सेयर खरिद बिक्रीसम्बन्धी आफूलाई कुनै जानकारी नभएको र त्यस सम्बन्धमा आफूलाई जानकारी नै नदिइएको बयान दिएका छन् ।

मण्डलले बयानमा के भनेका छन् भनेर थाहा पाउनुभन्दा पहिले कोकाकोलाको लाभकर छली विवाद के हो, त्यो बुझौँ ।

के हो कोकाकोलाको लाभकर छली विवाद ?

बहुराष्ट्रिय कम्पनी कोकाकोलाको नेपालस्थित कार्यालयको नाम हो, बोटलर्स नेपाल लिमिटेड । २०३२ सालमा प्रालिमा दर्ता भएको यो कम्पनी २०४२ सालमा लिमिटेड कम्पनीका रूपमा दर्ता भई केही कित्ता सेयर सर्वसाधारणका लागि समेत जारी भएको थियो । पछिल्लो समय सन् २०१४ को अक्टोबर २४ अर्थात् २०७१ कात्तिक ७ गते नेपालमा रहेको आफ्नो ७६ दशमलव १६ प्रतिशत सेयर बेचेपछि कोकाकोलाको लाभकर छलीको विषय सतहमा आएको थियो ।

२०७१ सालमै सेयर खरिद बिक्री भएको भनिए पनि सेयरको खरिद बिक्रीमा घोटाला भएको र त्यसबाट राज्यलाई आउनुपर्ने अर्बौँ रकमको राजश्व नआएको विषय राज्यले २०७७ साल मङ्सिरमा मात्रै थाहा पायो ।

२०७१ सालमै सेयर खरिद बिक्री भएको भनिए पनि सेयरको खरिद बिक्रीमा घोटाला भएको र त्यसबाट राज्यलाई आउनुपर्ने अर्बौँ रकमको राजश्व नआएको विषय राज्यले २०७७ साल मङ्सिरमा मात्रै थाहा पायो । त्यस लगत्तै राजश्व अनुसन्धान विभागले कोकाकोलाको नेपालस्थित कार्यालयमा छापा मारेर कागजात नियन्त्रणमा लिई अनुसन्धान गर्दा कोकाकोलाको सेयर मूल्य कौडीको भाउमा बेचिएको र नेपाल सरकारलाई कर नतिर्ने मनसायले दुबईमा कर नलाग्ने अफसोर कम्पनी खडा गरी कारोबार भएको पाइएको हो । त्यसपछि राजश्व अनुसन्धान विभागले विस्तृत छानबिन गर्दा कोकाकोलाले आफ्नो स्वामित्व बिक्री गर्दा भएको नाफा नदेखाएर नेपाल सरकारलाई तिर्नुपर्ने १ अर्ब २४ करोड रुपैयाँ पुँजीगत लाभकर नतिरेको ठहर भएको थियो । सोही आधारमा राजश्व अनुसन्धान विभागले २०७८ फागुन २७ गते उच्च अदालत पाटनमा राजश्व चुहावटको कसुरमा कोकाकोलाविरुद्ध मुद्दा दायर गर्‍यो ।

राजश्व अनुसन्धान विभागले कोकाकोलाविरुद्ध राजश्व चुहावटको मुद्दा दायर गर्दा १ अर्ब २४ करोड १९ लाख ८८ हजार ८६२ रुपैयाँ पुँजीगत लाभकर छली गरेको ठहर गर्दै सो रकममा ब्याज, जरिवानालगायतका सबै रकम जोडेर कुल ३ अर्ब ७१ करोड ८१ लाख ५० हजार ४११ रुपैयाँ बिगो कायम गरेको थियो । सो मुद्दा अहिले उच्च अदालत पाटनमा विचाराधीन अवस्थामा रहेको छ ।

कसरी भएको थियो पुँजीगत लाभकर छली ?
सन् २०१४ को अक्टोबर २४ मा बोटलर्स नेपाल लिमिटेडमा विभिन्न कम्पनी तथा व्यक्ति र सर्वसाधारणको गरी कुल १९ लाख ४८ हजार ८८७ कित्ता सेयर कायम थियो । जसमध्ये दुबईमा रहेको कोकाकोला साब्को एसिया लिमिटेडको नाममा कुल सेयर सङ्ख्याको ७६ दशमलव १६ प्रतिशत अर्थात् १४ लाख ८४ हजार ३०१ कित्ता सेयर स्वामित्व रहेको थियो । बाँकी सेयरमध्ये ४ लाख २८ हजार ७५५ कित्ता सेयर अर्थात् २२ प्रतिशत सेयर गोर्खा ब्रुअरीको नाममा थियो भने बाँकी ३५ हजार ८३१ कित्ता अर्थात् १ दशमलव ८४ प्रतिशत कित्ता सेयर नेपाली सर्वसाधारण लगानीकर्ताको नाममा रहेको थियो ।

तत्कालीन समयमै नेपालकै सम्पत्ति १५ करोड अमेरिकी डलरभन्दा बढी चुक्ता पुँजी रहेको कोकाकोला कम्पनीको ७६ दशमलव १६ प्रतिशत सेयर र श्रीलङ्काको कम्पनीको सेयरसमेत गरी जम्मा १ करोड ७१ लाख अमेरिकी डलर अर्थात् हालको मूल्यमा २ अर्ब २९ करोड रुपैयाँमै बिक्री गरेको भनी कागजात तयार पारियो ।

सन् २०१४ मा बोटलर्स नेपाल लिमिटेडमा लगानी गरेको कोकाकोला साब्को एसियाले तयार पारेको वित्तीय विवरणमा नेपालमा रहेको बोटलर्स नेपालको कुल पुँजी नै १५ करोड ७३ लाख ८२ हजार ४४७ अमेरिकी डलर अर्थात् हालको मूल्यमा २१ अर्ब रुपैयाँभन्दा बढी रहेको उल्लेख छ । तर तत्कालीन समयमै नेपालकै सम्पत्ति १५ करोड अमेरिकी डलरभन्दा बढी चुक्ता पुँजी रहेको कोकाकोला कम्पनीको ७६ दशमलव १६ प्रतिशत सेयर र श्रीलङ्काको कम्पनीको सेयरसमेत गरी जम्मा १ करोड ७१ लाख अमेरिकी डलर अर्थात् हालको मूल्यमा २ अर्ब २९ करोड रुपैयाँमै बिक्री गरेको भनी कागजात तयार पारियो । कागजात मात्रै तयार पारिएन नेपालमा रहेको आफ्नो सबै सेयर आयरल्यान्डमा रहेको युरोपियन रिफ्रेसमेण्टलाई बिक्री गरेको भनियो ।
अचम्म त के छ भने कोकाकोलाको सेयर सन् २०१४ को अक्टोबर २४ मा बिक्री हुँदा प्रतिकित्ता ११ दशमलव ५२ डलर अर्थात् तत्कालीन समयको सटही दर ९८ रुपैयाँ रहँदा प्रतिकित्ता नेपाली रुपैयाँ १ हजार १२९ मै बिक्री गरियो, जतिबेला कोकाकोलाको स्वतन्त्र बजार मूल्य अर्थात् सेयर बजारमा यो प्रतिकित्ता ३ हजार ८८३ रुपैयाँमा कारोबार भइरहेको थियो ।

यसरी नेपालमा प्रतिकित्ता करिब ४ हजार रुपैयाँमा कारोबार भइरहेको कोकाकोलाको सेयर दुबईबाटै बजार मूल्यभन्दा धेरै सस्तो प्रतिकित्ता १ हजार १२९ रुपैयाँमै बिक्री गरी नेपाल सरकारलाई तिर्नुपर्ने अर्बौँ रुपैयाँको राजश्व छली गरिएको थियो र त्यो राजश्व नतिर्ने मनसाय राखिएको थियो । बोटलर्स नेपालमा रहेको आफ्नो सबै सेयर कौडीको भाउमा बेचेको देखाए लगत्तै दुबईको ट्याक्स फ्री जोनमा दर्ता भएको कम्पनीले आफ्नो नाम नै परिवर्तन गरेर ‘कोकाकोला साउथवेस्ट एसिया होल्डिङ लिमिटेड’ बनाएको थियो, जसको कारण पछि खोज बिन भएमा पनि कागजात नष्ट भइसकेको जानकारी दिन सकियोस् ।

अंक १ : कोकाकोलाले नेपालमा छल्यो ५ अर्बभन्दा बढीको लाभकर

अंक २ : कर छल्न आफैँले आफैँलाई बेचिएको थियो कोकाकोलाको सेयर

अंक ३ : यी हुन् कोकाकोलाको कर छली प्रकरणमा मुद्दा दायर गरिएका १८ प्रतिवादी

अनुसन्धानपछि बयानका क्रममा वित्त निर्देशक मण्डलले के भने ?
कोकाकोलाको सेयर खरिद बिक्रीका क्रममा कौडीको भाउमा बिक्री भएको देखाएर नेपाल सरकारलाई तिर्नुपर्ने पुँजीगत लाभकर छली गर्ने नियत राखेको कोकाकोलाको कारोबार जानकारीमा आए लगत्तै राजश्व अनुसन्धान विभागले अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा विभागले कोकाकोलाको वित्त निर्देशक अशोककुमार मण्डलसँग बयान लिएको थियो । बयानका क्रममा मण्डलले सेयर खरिद बिक्री भएकोबारे आफूलाई कुनै जानकारी नै नभएको भन्दै बयान दिएका छन्, जबकि मण्डलले नै खरिद बिक्रीपछिका कागजात विदेशस्थित कम्पनीलाई पठाएका थिए भने त्यसको जानकारी ठुला करदाता कार्यालय र कम्पनी रजिस्ट्रारको कार्यालयमा पेस गरेका थिए ।

मण्डलको बयान यस्तो छ :
‘बाजे राम विलास मण्डल, बुबा प्रमेश्वर मण्डलको छोरा जिल्ला भक्तपुर, सूर्य विनायक नगरपालिका वडा नम्बर २ बस्ने वर्ष ४४ को म अशोक कुमार मण्डल हुँ । म बोटलर्स नेपाल लिमिटेडमा विगत छ वर्षदेखि वित्त नियन्त्रकको रूपमा कार्य गर्दै आएको छु । बोटलर्स नेपाल लिमिटेड वि.सं. २०३२ मा प्रालिको रूपमा स्थापित भई वि.सं. २०४२ मा लिमिटेड कम्पनीको रूपमा परिवर्तन भई मू.अ. कर, आयकरमा तथा अन्तःशुल्कमा ठुला करदाता कार्यालय, ललितपुरमा दर्ता भई हल्का पेय पदार्थ (कोकाकोला, स्प्राइट लगायत) को उत्पादन, बिक्री वितरण गर्ने कार्य गर्दै आएको छ । उक्त कम्पनीमा हाल २२ प्रतिशत गोर्खा ब्रुअरी प्रालि, ७६.१८ प्रतिशत कोकाकोला साउथवेष्ट एसिया होल्डिङ लिमिटेडको नाममा छ र बाँकी १.८४ प्रतिशत साधारण सेयरको रूपमा रहेको छ । सन् २०१५ देखि कोकाकोला साब्को एसियाको नाम परिवर्तन भई कोकाकोला साउथवेष्ट एसिया होल्डिङ लिमिटेड रहन गएको हो । द कोकाकोला कम्पनी (टीसीसी) को बोटलर्स नेपाल लिमिटेडमा लामो समय करिब १० प्रतिशत मात्र स्वामित्व रहेकोमा सन् २०१४ पश्चात् भने शतप्रतिशत निहित स्वामित्व रहेको छ । सेयर खरिद बिक्रीसम्बन्धी कारोबारको सेयर पर्चेज सन् २०१४ मा कम्पनीको Due Diligence Audit Agreement (SPA) यसअघि नै पेस भई सकेको छ । (DDA) नभएको हुँदा DDA REPORT पेस नभएको हो । कोकाकोला साब्को एसियाको सेयर खरिद बिक्री तथा हक हस्तान्तरणका लागि वार्ता गर्ने सिलसिलामा बोटलर्स नेपालको अनुमानित व्यवसाय मूल्य कायम गर्ने प्रयोजनका लागि तयार गरिएको मूल्याङ्कन विवरण पेस गरेका छौँ । सेयर खरिद बिक्रीको सम्बन्धमा व्यवसायको मूल्याङ्कन गर्न यस कम्पनीले यस्तै मूल्याङ्कन विवरणहरूलाई आधार लिएको हो । बोटलर्स नेपाल लिमिटेडको सेयर स्वामित्व रहेको कोकाकोला साब्को एसियाको नाम परिवर्तन भई कोकाकोला साउथवेष्ट एसिया होल्डिङ प्रालि भएको थाहा छ । कम्पनीको सेयर स्वामित्वमा भएको परिवर्तनबारे भने मलाई कुनै जानकारी थिएन, यस विभागबाट उक्त विवरण माग भएपश्चात् प्यारेन्ट कम्पनीले उपलब्ध गराएको विवरण हेरेपछि मात्र सन् २०१४ मा निहित सेयर स्वामित्व परिवर्तन भएको रहेछ भन्ने कुराको जानकारी भयो । उक्त मितिमा बोटलर्स नेपाल लिमिटेडको सम्पूर्ण सेयर कोकाकोला साब्कोबाट युरोपियन रिफ्रेसमेण्ट (आयरल्यान्ड) ले खरिद गरेको देखिन्छ । मुख्य कम्पनीको तहमा भएको सेयर खरिद बिक्रीको सन्दर्भमा आयकर ऐनको दफा ५७ अन्तर्गत आय विवरण पेस भएको थिएन । म बोटलर्स नेपालमा भर्खर जागिर सुरु गरेको र प्राप्त जानकारीका आधारमा भन्नु पर्दा सो सेयर कारोबारको बारेमा बोटलर्स नेपाललाई जानकारी नै थिएन भने बोटलर्स नेपालको सेयर खरिद बिक्री नभई मुख्य कम्पनीको तहमा खरिद बिक्री भएको हुँदा सेयर स्वामित्वमा भएको परिवर्तनबारे कम्पनी रजिस्ट्रार कार्यालय तथा कर कार्यालयमा जानकारी नगराइएको र विवरण पेस नगरिएको हुनुपर्छ । उल्लिखित कारोबार बोटलर्स नेपाल लिमिटेडको लेभलमा नभएको र कम्पनीलाई सो सम्बन्धमा जानकारीसमेत नभएको हुँदा सेयर परिवर्तनबाट भएको पुँजीगत लाभ गणना गर्ने तथा कर तथा विवरण दाखिला गर्ने कार्य भएको छैन । कोकाकोला साब्को एसियाको चुक्ता पुँजीको अतिरिक्त, सञ्चित घाटाको राशि १०८ मिलियन डलर रहेको तथा चुक्ता पुँजी र घाटा श्रीलङ्कासँगै नेपालको समग्र व्यापारसँग सम्बन्धित थिए । १७ मिलियन डलर रकमको मूल्याङ्कन क्रेता र बिक्रेताको आपसी सहमतिद्वारा निर्धारण गरिएको हुन सक्छ । मूल्याङ्कन रकम बिक्री खरिद सम्झौतामा उल्लेख भएको छ, जुन स्वतन्त्र पक्षहरूको बिचमा भएको लिखत हो । उक्त सेयर कारोबार नेपाल बाहिर भएको र बोटलर्स नेपालको सेयरको कारोबार नभै प्यारेन्ट कम्पनीको नियमित कारोबार व्यवसायसम्बन्धी सेयर कारोबार भएकोले आयकर ऐनको दफा ५७ को व्यवस्था बोटलर्स नेपालको लागि लागु नहुने मान्यताको आधारमा कम्पनीबाट सो ऐनबमोजिमको कर दायित्व पूरा नगरेको देखिन्छ । उक्त कारोबारका सम्बन्धमा प्रचलित आयकर ऐन, २०५८ बमोजिम कर तथा विवरण दाखिला गर्नुपर्ने सम्बन्धमा प्रबन्ध निर्देशक तथा प्रमुख लेखा नियन्त्रकको जिम्मेवारी रहने हुँदा मेरो कुनै दायित्व नरहने ब्यहोरा अनुरोध गर्दछु । राजश्व चुहावटसम्बन्धी कसुरमा मलाई राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ बमोजिम कारबाही नहुनुपर्ने हो ।’

मण्डलले आफूलाई कुनै जानकारी नभएको बताए पनि नेपालबाट सेयर पर्चेज एग्रिमेण्टका लागि मूल्याङ्कन गरेर पठाउने लगायतका काम गरेका थिए भने त्यसपछिको अन्य काम कारबाही पनि मण्डलबाटै भएको थियो ।

धनुषा स्थायी ठेगाना भएका मण्डललाई सबै जानकारी भएर पनि नियामक निकायमा जानकारी नगराएको, कागजात पेस नगरिएको र पुँजीगत लाभकर छली गर्ने निहित स्वार्थ राखेको कारण उनलाई पनि दोषी देखाएर विभागले उच्च अदालत पाटनमा राजश्व चुहावटको कसुरमा मुद्दा दायर गरेको थियो । उक्त मुद्दा अहिले पनि विचाराधीन अवस्थामै रहेको छ ।

पछिल्लोपटक गत भदौ १६ गतेको सुनुवाइमा साक्षी बुझ्ने आदेश भएकामा भदौ ३० गतेका लागि पेसी तोकिएको थियो । तर उक्त समयको बीचमा साक्षी बकपत्र हुन नसके पनि पुनः साक्षी बुझ्ने आदेश भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?