अमेरिकामा १० लाख डलर ठगेका जोशी १५ वर्षपछि नेपालमा दोषी ठहर

२ करोड ६ लाख रुपैयाँ जरिवाना, बैंक खातामा रहेको रकम पनि जफत

लोकपथ
231
Shares

काठमाडौं । अमेरिकामा १० लाख डलर ठगेर नेपाल आएका एक व्यक्ति १५ वर्षपछि दोषी ठहर भएका छन् । चिट्ठाको पैसा ठगेर नेपाल फर्केका पंकज जोशीलाई विशेष अदालतले सम्पत्ति शुद्धीकरणको अभियोगमा दोषी ठहर गरेको हो ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले उनलाई दोषी ठहर गरेको हो । उनलाई दुई करोड ६ लाख रुपैयाँ जरिवाना हुने विशेष अदालतको फैसला रहेको छ । साथै उनको खातामा रहेको रकम पनि जफत हुने फैसलामा उल्लेख छ । यद्यपि, उनलाई कैद सजाय भने सुनाइएको छैन ।

अध्ययनका लागि नेपालबाट अमेरिका पुगेका जोशीले अर्काको नाममा परेको १० लाख डलर चिठ्ठा आफूले हात पारेका थिए । उनले अमेरिकाको जेपी मोर्गन चेज बैंकबाट नेपालको बैंक अफ काठमाडौंमा सो रकम भित्र्याएका थिए । त्यसपछि उनी नेपाल आएका थिए ।

तर, चिठ्ठा परेका खास व्यक्तिले जोशीले झुक्याएर रकम लगेको थाहा पाएपछि प्रहरीमा खबर गरेका थिए । उनको उजुरीका आधारमा प्रहरीले अमेरिकामा समेत जोशीविरुद्ध ठगी मुद्दा चलाएको थियो । अपराधबाट आर्जित रकम नेपाल पठाएको भन्दै अमेरिकाको डिपार्टमेन्ट अफ जस्टिसले उनीविरुद्ध नेपालमा पत्र पठाएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपालमा अनुसन्धान गरेको थियो । अनुसन्धानमा प्राप्त प्रमाणका आधारमा विभागले विशेष अदालतमा मुद्दा हालेको थियो ।
गैरकानुनी स्रोतबाट आर्जन भएको रकम लुकाउने उद्देश्यले अमेरिकाबाट नेपालमा पैसा पठाएको, कसुर गरेर रकम कमाएको भन्ने थाहा हुँदाहुँदै नेपालको खातामा रकम जम्मा भएको भन्दै विशेष अदालतले जोशीलाई दोषी ठहर गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?