‘कम्पनीको सम्पूर्ण कारोबार जीबीले नै हेर्ने भएको हुँदा यस विषयमा मलाई जानकारी छैन’

लोकपथ
126
Shares
फाइल तस्बिर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गोरखा मिडिया नेटवर्कको सम्पूर्ण कारोबार अध्यक्ष जीबी राईले नै गरेको बताएका छन् । सहकारी ठगी प्रकरणको छानबिनका लागि गठित संसदीय छानबिन समितिसँगको बयानका क्रममा पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेले सो कुरा बताएका हुन् ।

उनले भनेका छन्, ‘मेरो बुझाइमा व्यक्ति र संस्थाबाट आएको सम्पूर्ण रकम जीबी राईले ल्याएको रकम हो । यी सम्पूर्ण रकमहरू तत्तत् संस्थाहरूबाट ल्याउँदा आवश्यक प्रक्रिया पूरा गरेको बुझ्नुपर्छ । जीबी राई स्वयम् उल्लिखित संस्थाहरूमा संलग्नै रहेको र गोरखा मिडिया नेटवर्क प्रालिको पनि कार्यकारी अध्यक्ष भएको हुँदा र कम्पनीको सम्पूर्ण कारोबार निजले नै हेर्ने भएको हुँदा यस विषयमा मलाई जानकारी छैन ।

उक्त ऋण लिन कार्यकारी अध्यक्ष जीबी राईको उपस्थिति अनिवार्य छ भनेर बैंकले भनेपछि उहाँलाई टेलिफोन गरियो । उहाँले हामीलाई यति थोरै ऋण लिन म बैंकमा जानुपर्ने मान्छे होइन, एक पैसा ऋण नलिई पनि पाँच वर्ष ढुक्कका साथ टेलिभिजन चलाउन सक्छु । तपाईंहरू चिन्ता नलिई टेलिभिजन राम्रो बनाउनुस् भन्नुभएको थियो । त्यही क्रममा छविलाल जोशीले आफ्नो घर राखी ऋण लिनेभन्दा उहाँको परिवारले मान्नुभएन भन्ने सुनेको थिएँ ।

जसका लागि मैले मलेसियाका गृहमन्त्री सैफदिन नासुसिन स्माईलसँग २०८१ बैशाख १८ मा पहिलो संवाद गरेको थिएँ । उहाँले जीबी राई मलेसियाको माइ सेकेण्ड होम स्किममा बसिरहेको हुँदा उक्त हैसियत रद्द गर्न त्यहाँका महान्यायाधिवक्तासँग कुरा गर्छु भन्नुभयो । इन्टरपोलले पनि साथसाथै काम गरिरहेको थियो र उनीहरूले जीबी राईको पासपोर्ट रद्द गर्ने भए फिर्ता पठाउन सकिन्छ भन्ने जानकारी दिएपश्चात नेपाल सरकारले उनको पासपोर्ट रद्द गर्न कास्की जिल्ला अदालतमा निवेदन दियो र राहदानी विभागलाई पनि पत्राचार गर्‍यो, तर वित्तीय अपराध भएका कारणले यी दुबै निकायबाट अनुमति प्राप्त हुन सकेन । त्यसपछि मलेसियाका गृहमन्त्रीसँग जेठ ३१, २०८० मा दोस्रो संवाद गरें । संवादका क्रममा जीबी राई मलेसियामा कुनै आपराधिक क्रियाकलापमा संलग्न नभएकोले उक्त स्किम रद्द गर्न नमिल्ने कुरा मैले जानकारी पाएँ । त्यसपछि नेपाल प्रहरीका अधिकारीहरूलाई नै मलेसिया पठाउने र थप पहल प्रधानमन्त्रीस्तरबाट समेत गर्ने तयारी हुँदै गर्दा सरकार परिवर्तन भयो । अहिले के भइरहेको छ, मलाई जानकारी छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?