गोर्खा मिडियाको शेयर बिक्रीमा रवि लामिछाने र जोशीबाट राजस्व छली : प्रतिवेदन

लोकपथ
231
Shares

काठमाडौं । सहकारी छानबिन संसदीय विशेष समितिले गोर्खा मिडियाको शेयर खरिद बिक्रीमा राजस्वसमेत छली भएको निष्कर्ष निकालेको छ । गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशकका हैसियतमा रवि लामिछाने र उपाध्यक्ष छबिलाल जोशीसहितले राजस्व छली गरेको निष्कर्ष समितिले निकालेको हो ।

‘कम्पनीमा शेयर खरिद बिक्री गर्दा भुक्तानीका माध्यमको परीक्षण नगरी कीर्ते रूपमा तयार गरिएको देखावटी कागजलाई समेत कम्पनी रजिष्ट्रारको कार्यालयले मान्यता दिने अभ्यास रहेको समितिसमक्ष सोधपुछका क्रममा गोरखा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवी लामिछाने र सञ्चालक छबिलाल जोशीको भनाइ समेतबाट देखिन्छ,’ समितिको प्रतिवेदनको निष्कर्षमा छ,’ ‘त्यसले एकातर्फ कम्पनी प्रशासनमा वित्तीय सुशासनविपरीतका क्रियाकलापलाई प्रोत्साहन हुने र आयकरवापत सरकारले प्राप्त गर्ने राजश्वमा समेत छली भएको देखिन आयो ।’

समितिको समग्र अध्ययन एवं छानबिनका आधारमा प्रस्तुत कार्यादेशउपरको निष्कर्ष देहाय बमोजिम रहेको छ :-
– सहकारी संस्थाहरूबाट गोरखा मिडिया नेटवर्क प्रा.लि. लगायतका कम्पनीहरूमा रकम प्रवाह भएको देखिन्छ। सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लि., सुप्रिम बचत तथा ऋण सहकारी संस्था लि. सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लि., स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लि. र सानो पाइला बचत तथा ऋण सहकारी संस्था लि. बाट जम्मा रू. ६५,५४,०४,५३८ रकम गोर्खा मिडिया नेटवर्क प्रा. लि.मा प्रवाह भएको देखिन्छ । २०० जसमध्ये २२ करोड ४६ लाख ३० हजार सहकारी संस्थाबाट गोरखा मिडिया नेटवर्कको बैंक जम्मा भएको देखिन्छ भने ४३ करोड ७ लाखा ७४ हजार ५३८ सहकारीको रकम अन्य व्यक्ति तथा संस्थाको हरूको नामबाट गोरखा मिडिया नेटवर्क प्रा.लि.को बैंक खातामा जम्मा भएको देखिन्छ । कतिपयले कम्पनीलाई सापटीका रूपमा, कतिमा कम्पनीलाई ऋणका रूपमा, कतिमा सञ्चालकका नाममा ऋण खडा गरी कम्पनीमा र कतिमा कम्पनीका सञ्चालकको नाममा ऋण खडा गरी कम्पनीमै रकम प्रवाह भएको देखियो । जुन विधि वा मार्ग अपनाइएको भएता पनि ती कारोबारहरू कानुनसम्मत देखिएनन् । सहकारीको बचत रकम सदस्यबाहेकमा कारोबार हुने वा रकम प्रवाह हुने परिकल्पना कानुनतः गरेको देखिँदैन । कानुनको एउटा मान्य सिद्धान्त के रहेको छ भने कानुनको अनभिज्ञता क्षम्य हुँदैन । तसर्थ, सहकारीबाट कुनै पनि कम्पनी वा गोरखा मिडिया नेटवर्क प्रा.लि.मा सिधा रकम प्रवाह हुनु गैरकानुनी हो ।

–गोरखा मिडिया नेटवर्क प्रा. लि. मा रकम पठाउने सहकारी संस्थाका मुख्य जिम्मेवार एवं पाउने संस्था गोरखा मिडिया नेटवर्क प्रा. लि. का अध्यक्ष समेत रहेका गितेन्द्रबाबु राईलाई समितिले बुझ्ने र सुन्ने कोशिस गरेको भएता पनि पूरा हुन पाएन। सहकारी संस्थाबाट प्रवाह भएबमोजिम नै गोरखा मिडिया नेटवर्क प्रा. लि. को खातामा जम्मा भएको रकमलाई गोरखा मिडिया नेटवर्क प्रा.लि.को लेखापरीक्षण प्रतिवेदनले भने सहकारीबाट आएको रकमका रूपमा स्वीकार गरेको देखिँदैन ।

– लेखापरीक्षण प्रतिवेदनले उक्त रकमहरूलाई गितेन्द्रबाबु राईले छोटो अवधिको लागि दिएको निर्व्याजी सापटीका रूपमा उल्लेख गरेको छ । यद्यपि गोरखा मिडिया नेटवर्क प्रा. लि. मा रहेको गितेन्द्रबाबुर राईको ऋण खातामा नियमित रकम आउने जाने भैरहेको तथ्यबाट देखिन्छ । गोरखा मिडिया नेटवर्क प्रा. लि. का तत्कालीन प्रबन्ध निर्देशक रवी लामिछानेले सोधपुछका क्रममा सहकारीबाट कम्पनीमा रकम आएको सम्बन्धमा आफूलाई जानकारी नभएको र सो सम्बन्धमा गितेन्द्रबाबु राईलाई थाहा हुने उल्लेख गर्नुभएको देखिन्छ । अर्का तत्कालीन सञ्चालक छबिलाल जोशीले रकम आएको सम्बन्धमा गितेन्द्रबाबु राई वा रवी लामिछानेलाई थाहा हुने उल्लेख गर्नुभएको छ । तर उक्त समयका प्रा.लि.को आन्तरिक प्रशासन सञ्चालनमा आफ्नो भूमिका र जिम्मेवारी रहेको कुरा रवी लामिछानेले समितिमा खुलाउनु भएको र सो समयमा निजले सम्पादन गरेका खाता सञ्चालन समेतका कामहरूको विवरण समेतबाट देखिन्छ । सहकारी संस्थाबाट रकम गोरखा मिडिया नेटवर्क प्रा.लि.मा आउने सम्पूर्ण प्रक्रियामा रवी लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण रहेको नभेटिएता पनि सोही रकम गोरखा मिडियामा आइसकेपछि सोको परिचालन र खर्च प्रक्रियामा उहाँको सहभागिता देखिन्छ ।


– गोरखा मिडिया नेटवर्क प्रा. लि. को ग्लोबल आइएमई बैंकमा भएको खातामा अध्यक्ष गितेन्द्रबाबु राईसहित रवी लामिछाने र छबिलाल जोशीको हस्ताक्षर रहेको र तिनमध्ये एकजनाको हस्ताक्षरमा चेक काटिन सक्ने अर्थात् खाता चल्ने देखिएबाट तिनै जनाले गोरखा मिडिया नेटवर्क प्रा. लि. को आन्तरिक वित्तीय परिचालनको अधिकार राखेको देखिन आयो । बैंकमा खाता खोल्दाका बखत पेस गरिएको ग्राहक पहिचान फाराम (KYC) मा उल्लिखित विवरण र दस्तखत नमूना कार्डमा भएको अस्ताक्षर र सोसँगै रहेको संस्थागत खाता खोल्ने फारामको दोस्रो पानामा तीनमध्ये एक जनाको हस्ताक्षरमा खाता सञ्चालन हुने वेहोरा रहेको देखिन्छ ।


– समितिमा प्राप्त चेकहरूमा रवी लामिछानेका एकल हस्ताक्षरका जारी चेकहरू धेरै रहेका छन्। हस्ताक्षरलगायतको सम्पूर्ण प्रक्रियामा सहमति रहनु, आन्तरिक प्रशासन सञ्चालनमा प्रभावकारी भूमिका रहनु, सञ्चालकमध्येका रबी लामिछानेको नामबाट लेखापरीक्षण प्रतिवेदनमा उल्लिखित Equity Share Capital शीर्षकमा रकमसमेत जम्मा भएको देखिनु र समितिसमक्ष सोधपुछका क्रममा उक्त रकम पेश्की लिई जम्मा गरेको हुँ भन्ने वेहोरा लेखाएता पनि पेश्की लिएको खुल्ने आधार प्रमाण पेस गर्न सकेको नदेखिएको समेतको आधार प्रमाणबाट निज सञ्चालकहरूले कम्पनीको जिम्मेवार भूमिका निर्वाह गर्नु भएको देखिन्छ । कम्पनी चलाउने रकम के कहाँबाट आउछ ? कसरी आउछ ? कति आउँछ ? भन्ने कुरा खाता सञ्चालन गर्ने सञ्चालकले जान्ने र बुझ्ने नै अवस्था हुने तथा निजहरूमध्ये कसैले रकमको स्रोतमाथि प्रश्न गरी कुनै विमती वा फरक मत दर्ज गराएको अवस्थासमेत रहे/भएको नदेखिएको हुँदा निज सञ्चालकद्वय रवी लामिछाने र छबिलाल जोशी कम्पनीमा जिम्मेवार पदाधिकारी रहुन्जेल निजहरूले सहकारीबाट आएको रकम खर्च वा परिचालन गरेबापत सिर्जना हुने उत्तरदायित्व बहन गर्नुपर्ने देखिन्छ ।


–कम्पनी रजिष्ट्रारको कार्यालयको अभिलेखअनुसार लामिछाने र जोशी दुवै जनाले शेयर खरिद गरी कम्पनीमा प्रवेश गरेको र शेयर बिक्री गरी कम्पनी छाडेको भन्ने देखिन्छ । यद्यपि उहाँहरूको समितिसमक्षको जवाफमा आफूहरूले पैसा नलिए नदिएको भनी खुलाउनु भएको छ । शेयर खरिद बिक्री गर्दाका बखत कार्यालयमा पेस गरिएका कागजात एवं तिनमा भएका हस्ताक्षरको सम्बन्धमा भने दुवै जनाले कुनै असहमति जनाएको वा उक्त दस्तखत आफूले गरेको होइन भनी भनेको अवस्था छैन ।कार्यालयको प्रमाणित अभिलेख अनुसार निजहरू दुवै जना शेयर रकम लगानी गरी सञ्चालकको भूमिकामा रहेको देखिन आउछ । सञ्चालक तथा प्रबन्ध निर्देशकसमेत रहनुभएका रवि लामिछानेले आफूलाई स्वेट शेयर दिएको भनी बताएता पनि प्रथमतः वेट शेयरसम्बन्धी कानुनी प्रबन्ध नेपालमा रहे वा भएको नदेखिएको तथा निज सञ्चालकहरूका बीचमा एकापसमा वेट शेयर लिने दिने सम्बन्धमा कुनै सम्झौता भएको लिखत प्रमाण समेत रहे भएको अवस्था देखिँदैन । समितिसमक्ष सोधपुछका क्रममा निज लामिछानेले शेयर सम्बन्धी प्रबन्ध निज गितेन्द्रबाबु राईले गर्ने सहमति भएको थियो भनी खुलाएको बेहोरा निजकै कथनबाहेक अर्को कुनै प्रमाणबाट समर्थित भएको अवस्था देखिँदैन ।


–अर्कोतर्फ करार सम्बन्धी प्रचलित कानूनअनुसार कानूनतः पालना गराउन नसकिने गरी भएको करार बदरभागी हुने अवस्था समेतका आधारमा गोरखा मिडिया नेटवर्क प्रा. लि. मा भएका तत्समयका कारोबार र दायित्वका विषयबाट अध्यक्ष गितेन्द्रबाबु राई, तत्कालीन प्रबन्ध निर्देशक रवी लामिछाने र सञ्चालक सदस्य छबिलाल जोशीले कम्पनीमा बहाल रहेको अवधिसम्मका लागि जिम्मेवारी र दायित्व लिनु पर्ने अवस्था देखिन आयो ।


– निजहरू रवी लामिछाने र छबिलाल जोशीले सोधपुछका क्रममा खुलाउनुभएको भौचर पेश गरिएको थियो तर रकम जम्मा भएको थिएन भन्ने वेहोराबाट कम्पनी रजिष्ट्रारको कार्यालयमा गलत विवरण दिएको भन्ने देखिन्छ । तत्सम्बन्धमा कम्पनी रजिष्ट्रारको कार्यालयकै ३ क्षेत्राधिकार हुने हुँदा यहाँ बोलिरहनु परेन । यद्यपि रकम दाखिला नगरी भौचरको प्रमाणीकरण सम्बन्धित बैङ्कबाट कसरी भयो र कम्पनी रजिष्ट्रारको कार्यालयले शेयरवापतको रकम लिनादिना भएको भन्ने कुरा के–कसरी यकिन गरेको हो भन्ने कुरा समेत देखिँदैन ।


– गोरखा मिडिया नेटवर्क प्रा. लि. मात्र होइन, स्वर्णलक्ष्मी, सूर्यदर्शन, सुप्रिम, समानता, सानो पाइला समेतका सहकारीहरूबाट गितेन्द्रबाबु राई र कुमार रम्तेलको स्वमित्वमा रहेका अन्य कम्पनीहरूमा, सुमेरु बचत तथा ऋण सहकारीबाट सुमेरू अस्पताल लगायत कम्पनीहरूमा, श्री लालीगुराँस सहकारीबाट भैरबकुण्ड जलविद्युत आयोजनामा, शिवशिखर सहकारीबाट केदारनाथ शर्माका कम्पनीहरूमा कर्जा प्रवाह भएको निकै लामो सूची छ । ती सबै कर्जा गैरकानुनी र बेरीतका छन् ।


– कम्पनीमा शेयर खरिद बिक्री गर्दा भुक्तानीका माध्यमको परीक्षण नगरी कीर्ते रूपमा तयार गरिएको देखावटी कागजलाईसमेत कम्पनी रजिष्ट्रारको कार्यालयले मान्यता दिने अभ्यास रहेको समितिसमक्ष सोधपुछका क्रममा गोरखा मिडिया नेटवर्क प्रा. लि. का तत्कालीन प्रबन्ध निर्देशक रवी लामिछाने र सञ्चालक छबिलाल जोशीको भनाइ समेतबाट देखिन्छ । त्यसले एकातर्फ कम्पनी प्रशासनमा वित्तीय सुशासन विपरीतका क्रियाकलापलाई प्रोत्साहन हुने र आयकरवापत सरकारले प्राप्त गर्ने राजश्वमा समेत छली भएको देखिन आयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?