धनराजले ज्योतीलाई साक्षी राखेर कुम्भराजसँग गरेका थिए झुटो प्रतिबद्धता

लोकपथ
119
Shares

काठमाडौं । ललितपुरको महालक्ष्मीस्थित मितेरी बचत तथा ऋण सहकारी संस्था डुब्नुमा कांग्रेस उपसभापति धनराज गुरुङ र उनकी पूर्व श्रीमती ज्योती गुरुङको हात रहेको खुलेको छ ।

सहकारी संस्था बचत अपचलनको छानबिनका लागि गठित समितिसँगको बयानका क्रममा सहकारीका अध्यक्ष कुम्भराज गुरुङले सो कुरा बताएका हुन् ।

कुम्भराजले धनराज र ज्योतीले सहकारीको रकम फिर्ता गर्ने मौखिक सम्झौता गरेको तर त्यो पुरा नहुँदा सहकारी पीडितहरुको रकम फिर्ता गर्न नसकिएको बताए । त्यस्तै उनले धनराज र ज्योतीले पैसा फिर्ता गरेमा सबै पीडितहरुको रकम फिर्ता गर्न सक्ने सहकारी छानबिन समितिको सार्वजनिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कुम्भराजले भनेका छन्, ‘ऋण, जोखिम कर्जा उठाउन सकियो र ज्योति गुरुङबाट अपचलन भएको रकम फिर्ता लिन सकियो भने समस्या समाधान गर्न सकिन्छ । संस्थाका सञ्चालक समितिका ९ जना सदस्यसहित माननीय धनराज गुरुङ र उहाँकी श्रीमती ज्योति गुरुङ बसेर संस्थाको समस्या समाधान गर्छौं भन्ने मौखिक प्रतिबद्धता व्यक्त गर्नुभएको थियो, तर पूरा भएन । हाल ज्योति गुरुङ कहाँ हुनुहुन्छ, मेरो जानकारीमा छैन ।’

धनराजको पूर्व पत्नी भनिएकी ज्योतीलाई उक्त सहकारीको सम्पूर्ण जिम्मेवारी दिइएको र उनैले सहकारी डुबाएको कुम्भराजले बयानमा उल्लेख गरेका छन् । सो सहकारीबाट ज्योतीले १२ करोड ५० लाख रुपैयाँ ऋण लिएर हाल फरार रहेकी छिन् ।

‘संस्था समस्यामा पर्नुको कारण प्रवाह भएको ऋण असुल गर्न नसकेर बचतकर्ताहरूको बचत रकम फिर्ता गर्न नसक्नु हो । साथै बचतकर्ताको ठूलो रकम दुरुपयोग पनि भएको थियो । संस्थाको महाप्रवन्धक ज्योति गुरुङलाई संस्था सञ्चालन गर्न सम्पूर्ण जिम्मेवारी दिइएको थियो । उहाँले १२ करोड ५० लाख रकम हिनामिना गरेको देखिन्छ, जुन रकम ब्याजसमेत गरेर १४ करोड ३१ लाख पुगेको छ,’ उनले भने ।

सहकारी ठगी प्रकरणको छानबिनका लागि गठित समितिले तयार पारेको प्रतिवेदन आज सरकारले सार्वजनिक गरेको छ । ३ महिना भन्दा बढी समय लगाएर तयार पारिएको ११ सय २४ पेजको प्रतिवेदनपछि सहकारी पीडितहरुले न्याय पाउने अपेक्षा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?