साफ यु–१७ च्याम्पियनसिप : डिफेन्डिङ च्याम्पियन भारतको विजयी सुरुआत 

लोकपथ
280
Shares

थिम्पू । साफ यु–१७ च्याम्पियनसिप फुटबलमा डिफेन्डिङ च्याम्पियन भारतले विजयी सुरुआत गरेको छ ।

भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा शुक्रबार भएको उद्घाटन खेलमा भारतले बंगलादेशमाथि १–० को कठिन जीत दर्ता गरेको हो । यो समूहमा मालदिभ्स पनि रहेको छ । 

पहिलो खेलमा जित निकालेको भारत सेमिफाइनल नजिक पुगेको छ । निर्धारित ९० मिनेटपछिको अतिरिक्त समयमा भारतले गोल गर्दै जीत निकालेको हो ।

खेलभरि नै बंगलादेशको उत्कृष्ट रक्षात्मक पंक्तिसँग संघर्ष गरेको भारतले अन्ततः इन्जुरी समयको पहिलो मिनेटमा डिफेन्डर सुमित शर्माको हेडरबाट गोलको खडेरी तोडेको थियो ।

भारतका मुख्य प्रशिक्षक इश्फाक अहमदले खेलको ७८औँ मिनेटमा मैदानमा पठाएका परिवर्तन खेलाडी मानभकुपर मालन्गियाङले खेलको निर्णायक गोलका लागि सहयोग गरेका थिए ।

उनको दायाँपट्टिबाट गरिएको क्रसले बंगलादेशका डिफेन्डरहरू झुक्किएका बेला सुमित शर्माले हेडर गोल गरेका थिए ।

भारतले आफ्नो समूह चरणको अन्तिम खेल मालदिभ्सविरुद्ध खेल्ने छ । पराजित भएको बंगलादेशले पनि अब मालदिभ्ससँग खेल्ने छ । 

शुक्रबारदेखि सुरु भएको साफ च्याम्पियनसिपमा नेपालले भने शनिबार पाकिस्तानसँग खेल्ने छ । नेपाल र पाकिस्तानबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजेदेखि सुरु हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?