कांग्रेस-एमाले गठबन्धनले जनतामा आशा जगायो : महासचिव पोखरेल

लोकपथ
77
Shares

दाङ ।  नेपाल कम्यनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले कांग्रेस–एमालेको वर्तमान राजनीतिक समीकरण लामो जाँदैन भनेर गलत भाष्य पैदा गरेर आतंक फैलाउन खोज्नु लोकतन्त्र खोक्रो बनाउने खेल भएको टिप्पणी गरेका छन्  । 

प्रेस चौतारी नेपाल दाङ शाखाले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले मुलुकको हित र राजनीतिक स्थायित्वका लागि बनेको सरकारको समीकरणविरुद्धको चलखेल मात्रै रहेको टिप्पणी गरे ।

‘एमाले–कांग्रेस मिलेपछि अब देश अस्थिरताबाट मुक्त भएको छ, स्थिर सरकारको आवश्यकता ठानेर संसद्का दुई ठुला दल एक ठाउँमा उभिएका हुन्, यो अवस्थामा अब अराजकता चाहनेको केही लाग्दैन, विकल्प खोज्ने हो भने संसद्बाट मात्रै सम्भव छ, थप अरू संसदीय विकल्प खोज्ने भए २०८४ को निर्वाचन छदैछ, आमनिर्वाचनबाट जनताको मत लिएर आफूलाई प्रमाणित गर्ने ठाउँ खुला छ, ‘ उनले भने ।

दुई प्रमुख पार्टीको एक्ला एक्लै चुनाव लड्ने प्रतिबद्धता लोकतन्त्र र देशका लागि हितकर हुने उनको भनाइ छ । देशको विकास र सुशासनमा साना राजनीतिक दलले अस्थिरता ल्याएको महासचिव पोखरेलको आरोप थियो । अहिले निकै चर्चामा रहेको सहकारी ठगीबारे धारणा राख्दै उनले सहकारी क्षेत्रमा संकट देखिनु वित्तीय संकटको प्रभाव रहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?