पोखरामा रोकिएन डेंगु संक्रमण, एक महिनामा ६ गुणाले वृद्धि

लोकपथ
49
Shares

गण्डकी ।  कास्कीको पोखरा महानगरपालिकामा गत भदौ पहिलो सातायता डेंगु संक्रमण ६ गुणाले बढेको छ । भदौ पहिलो साता डेंगु संक्रमितको संख्या सात सयको आसपास रहेकोमा महिना दिनमा बढेर चार हजार चार सय ३३ पुगेको हो । महानगरको स्वास्थ्य महाशाखाका अनुसार संक्रमितको उक्त कुल संख्या गत पुस यताको हो । 

महाशाखाका जनस्वास्थ्य निरीक्षक राजेन्द्र रेग्मीले संक्रमितको सङ्ख्या ३१ सय बढी पुग्न नदिई डेंगु रोकथाम गर्ने लक्ष्य लिइएका उक्त लक्ष्य पूरा गर्न नसकिएको बताए । ‘पछिल्लो एक महिनामा डेंगु संक्रमण ह्वात्तै बढ्यो, यही अवस्था रहिरहे पाँच हजार बढीमा संक्रमण देखिन सक्छ’, उनले भने , ‘प्रत्येक व्यक्तिले सावधानी नअपनाएसम्म डेंगु रोकथाम चुनौतीपूर्ण छ ।’

गत वर्ष पोखरा महानगरपालिकाका ती हजार तीन सय ७० जनामा डेंगु संक्रमण पुष्टि भएको थियो । कात्तिक महिनासम्म संक्रमणको जोखिम रहने भएकाले यो वर्ष संक्रमितको सख्या अझै बढ्न सक्ने देखिएको जनस्वास्थ्य निरीक्षक रेग्मीले जानकारी दिए  । उनका अनुसार डेंगु संक्रमणबाट पोखरामा तीन जनाको मृत्यु भएको छ । 

पोखरा महानगरपालिका–५ का ५२ वर्षीया महिला, १२ का ४० वर्षीय र १० का ८० वर्षीय पुरुषको डेंगुका कारण मृत्यु भएको उनले जानकारी दिए । पोखरा महानगरपालिका–नं ५, ८ लगायतका वडा डेंगुबाट बढी प्रभावित भएको स्वास्थ्य महाशाखाले जनाएको छ ।

 जनघनत्व बढी भएका ठाउँमा डेंगु छिटो फैलिने हुँदा महानगरको मुख्य सहरी क्षेत्रमा संक्रमण तीव्र बनेको हो । संक्रमण तीव्र बन्दै जाँदा उक्त रोग लाग्नबाट जोगिन विशेष सावधानी अपनाउन चिकित्सक तथा स्वास्थ्यकर्मीले सुझाएका छन् । स्वास्थ्य कार्यालय, कास्कीका प्रमुख रामबहादुर नेपालीले संक्रमण जटिल बनेर मानिसको मृत्युसमेत हुनसक्ने भएकाले डेंगु रोग सार्ने लामखुट्टेको टोकाइबाट बच्नु नै उक्त रोगबाट बच्ने उत्तम उपाय भएको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?