‘समाजसेवा विकासोन्मुख देशकाे लागि एउटा मेरुदण्ड हो’

लोकपथ
21
Shares

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवल किशोर साह सुडीले समाजसेवा विकासोन्मुख देशका लागि मेरुदण्ड भएको बताएका छन् । 

आइतबार सामाजिक सेवा दिवसको अवसरमा समाज कल्याण परिषद्ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सुडीले समाज सेवामा नागरिकहरूको आकर्षण नयाँ पुस्तालाई समाज सेवाप्रति अभिप्रेरित गर्न परिषद्ले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताए ।

उनले भने, ‘समाजसेवा विकासोन्मुख देशका लागि एउटा मेरुदण्ड हो । समाजको सेवा र रूपान्तरण सभ्यताको प्रतीक हो । हामी सबै जना समाजका एक अंश हौँ । समाज हाम्रो मूल्य र मान्यताको धरोहर हो । समाजसेवामा नागरिकहरूको आकर्षण अनि नयाँ पुस्तालाई समाजसेवाप्रति अभिप्रेरित गर्नका निम्ति समाज कल्याण परिषद्ले समाजसेवा दिवस मनाउने गरेको हो । यो दिवस सबै सामाजिक संघ संस्था एवं समाजसेवीहरूको राष्ट्रिय पर्वको रुपमा विकसित हुँदै जानुपर्दछ भन्ने विश्वास लिएको छु ।’

सामाजिक संघ संस्थाहरू समाजप्रति उत्तरदायी र जवाफदेही हुने गरी परिषद्को काम कारबाही प्रस्ट र पारदर्शी बनाउन निर्देशन दिए । 

‘सामाजिक संघ संस्थाहरू समाजप्रति उत्तरदायी र जवाफदेही हुनेहुँदा हाम्रा काम कारबाही प्रस्ट र पारदर्शी बनाउने प्रयास गर्नुपर्दछ । समाज कल्याण परिषद्ले समाजसेवाको अझै वैज्ञानिक र प्रभावकारी रुपमा अनुगमन र मूल्यांकन गर्नुगरि गैरसरकारी संघ संस्थाहरुका कार्यहरुलाई अझै व्यापक र व्यवस्थित बनाउनुपर्दछ,’उनको भनाइ थियो । 

उनले सरकारले परिषद्लाई थप जिम्मेवार बनाउन समाज कल्याण परिषद्को संरचना अधिकारको बाँडफाँटसहित संघ, प्रदेश र स्थानीय तहहरुसम्म विस्तार गर्ने गरी समाज कल्याण ऐनलाई समसामयिक परिमार्जन र संशोधनको तयारी गरिरहेको उल्लेख गरे । 

एकद्धार नीतिअनुसार समाज कल्याण परिषद्बाट संघसंस्थाहरुमा नियमन, सहज करण प्रभावकारी अनुगमन हुने गरी कार्यसंचालन र व्यवस्थापन हुने उनको विश्वास छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?