मुआब्जा नपाएको भन्दै १०५ दिनदेखि अनसनमा अनवर अन्सारी

लोकपथ
28
Shares

काठमाडौं । बाराको तामागढी–सिम्रौनगढ सडक योजना निर्माण पूरा भएको लामो समय बित्दा पनि अधिग्रहण भएको जग्गाको मुआब्जा नदिएको भन्दै प्रभावित स्थानीयको आन्दोलन जारी राखेका छन् ।

तामागढी सिम्रौनगढ सहयोेग तथा मुआब्जा संर्घष समितिका अध्यक्ष अनवर अन्सारीलगायका व्यक्तिहरू आन्दोलनरत छन् । अध्यक्ष अन्सारीले काठमाडौँको माइतीघर मण्डलामा आइतबार पनि आफ्नो आमरण अनसन जारी राखेका छन् । 

उनले मुआब्जा प्राप्तिका लागि माग राख्दै अनसन सुरु गरेको १०५ दिन भइसकेको बताए । उनले सरकारले जग्गा अधिकरण गरेको बापत दिनुपर्ने क्षतिपूर्ति अझैसम्म पनि नदिएको र आश्वासन मात्र दिने गरेको बताए ।

भारत सरकारको अनुदानमा नेपालमा १० वटा बनेको बाटो ९ वटालाई मुआब्जा दिइसकेको तर तामा गढलाई भने झुटो आश्वासन मात्र दिएको कारण अनसन बसिरहेको बताए । करिब ६५ देखि ७० बिघा जग्गाबराबरको दुई अर्ब ९७ करोड ७८ लाख ४० हजार ६ सय २५ रुपैयाँबराबरको मुआब्जा स्थानीयले पाएका छैनन्।

उनले भने, ‘हाम्रो जग्गा अधिकरण गरिएको छ । त्यो बापत सरकारले हामीलाई क्षतिपूर्ति अझै सम्मपनि दिएको छैन् । सुरुमा आश्वासन दिइयो, पैसा तपाइँहरुले नियमले पाउने हो भन्यो । तर आजसम्म झुक्याएर सरकारले राखेको छ । एक सुक्का पनि अहिलेसम्म दिएको छैन् । भारत सरकारको अनुदानमा बनेको बाटो हो । नेपालमा १० वटा बाटो बन्यो, त्यसमा ९ वटालाई मुआब्जा दिइसक्यो तर हाम्रो तामागढको अहिलेसम्म पाएको छैन् । झुटो आश्वासन हामीले पाएको छौँ । त्यसैले अनसन बसेको हौँ ।’

३९.७५ किलोमिटर लम्बाइको यो सडक दक्षिणमा भारतीय सीमाको दशगजादेखि उत्तरतर्फ महेन्द्र राजमार्गको निजगढ–काठमाडौं ‘फास्टट्रयाक’ जोड्ने महत्त्वपूर्ण सडक हो ।

साबिकको १२ वटा गाविस र अहिले सिम्रौनगढ नगरपालिका, कोल्हवी नगरपालिका, बारा गढी गाउँपालिका र आदर्श कोतवाल गाउँपालिका गरी चार वटा पालिकाअन्तर्गत पर्ने यो सडक सात मिटर चौडाइको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?