मह किसानको समस्या अध्ययन गर्न समिति गठन

लोकपथ
28
Shares

काठमाडौ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले  मह उत्पादक किसानहरुको समस्या अध्ययन गर्न समिति गठन गरेका छन् । 

आइतबार मन्त्रालयमा बसेको सरोकारवालाहरूको बैठकमा मन्त्री अधिकारीले मन्त्रालयका सहसचिव भोजराज सापकोटाको अध्यक्षतामा सरोकार पक्षकोसमेत सहभागिता हुने गरी ९ सदस्यीय समिति गठन गरेका हुन् । समितिलाई १५ दिन भित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको मन्त्रालयले जनाएको छ । 

बैठकमा मन्त्री अधिकारीले मह उत्पादक किसान र वितरक दुवै पक्षको हित हुने गरी कार्यदलले सुझाव दिने विश्वास व्यक्त गरे । 

मन्त्री अधिकारीले सरकारको लक्ष्य आयात प्रतिस्थापन गरी स्वदेशी किसानको उत्पादनलाई प्राथमिकता दिने भए पनि मह किसानको तत्काल देखिएको समस्या समाधान गर्न जरुरी रहेको बताए । समितिले दिने सुझावका आधारमा मन्त्रालय अघि बढ्ने मन्त्री अधिकारीले बताए । 

मह किसानहरूले हाल मौज्दात रहेको २१ सय मेट्रिक टन मह बिक्रीको व्यवस्था मिलाइदिन सरकार समक्ष माग गरेका छन् ।

मह आयात रोके पनि सिरफको रूपमा यसको आयात भइरहेको भन्दै मह किसानहरूले महको आयातमा कर वृद्धि गर्नुपर्ने, स्वदेशी महलाई बजारीकरण गर्न सरकारले सहयोग गर्नुपर्ने  लगायतका माग सरकार समक्ष राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?