‘असमझदारीबाट सुरु भएर संविधान संशोधन गर्ने कुरा अनुचित हुन्छ’

लोकपथ
84
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले संविधानलाई स्थायित्व दिने र व्यवहारमा अझ प्रभावकारी बनाउने गरी संशोधन गर्नुपर्ने बताएका छन् । 

आइतबार संविधानसभा सदस्य परिषद् नेपाल केन्द्रीय तदर्श समितिले १०औँ संविधान दिवसको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले संशोधनको विषय कसले उठायो त्यसको पक्षमा कि विपक्षमा जाने भन्ने कुराबाट नै असमझदारी सुरु भएर संविधान संशोधन गर्ने कुरा अनुचित हुने र त्यसले परिणाम पनि नराम्रो ल्याउने बताए । 

उनले भने, ‘सन्दर्भ अहिले संविधान संशोधनको उठिरहँदा खेरी केही कुराहरू आए मलाई खुसी लागेको छ । किनभने यो ठिक ठाउँमा आएका छन् । मलाई के लाग्छ भने संविधान निर्माण गर्ने एउटा काम थियो । कार्यान्वयनको ९ वर्ष बिताएर हामी १०औँ वर्षमा प्रवेश गरेका छौँ । यसबीचमा हामीले अनुभूत  गरेको कुरा संशोधन गर्ने प्रक्रिया मार्फत संशोधन गर्ने र यसलाई अझ स्थायित्व दिने र व्यवहारमा अझ प्रभावकारी बनाउने उपायहरू खोज्ने यो बेला स्वाभाविक हो । तर यो सबै गर्दा संशोधनको विषय कसले उठायो ? त्यसको पक्षमा कि विपक्षमा जाने भन्ने कुराबाट नै असमझदारी सुरु भएर संविधान संशोधन गर्ने कुरा उचित हुँदाहुँदै अनुचित हुन सक्छ परिणाम पनि नराम्रो ल्याउन सक्छ ।’ 

सभामुख घिमिरेले संविधान संशोधनलाई सबैको सहमति र सहकार्य न्यूनतम पनि हुनुपर्ने भन्दै समझदारीबाट निकास दिएर यसलाई संशोधन गर्नुपर्ने धारणा राखे । 

उनले भने, ‘यसलाई अलि व्यवस्थित ठाउँबाट लानुपर्छ । र सबैको सहमति चाहिन्छ अथवा सहकार्य न्यूनतम पनि हुनुपर्छ र एउटा समझदारीबाट निकास दिएर यसलाई संशोधन गर्नुपर्छ । त्यसको अगुवाइ यो समितिले व्यवहारिक रूपमा गर्नु उचित हुन्छ । त्यो दिशामा ध्यान जानुपर्छ ।’ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?