कम्युनिष्ट झुकावका अनुरा श्रीलंकाको नयाँ राष्ट्रपति, को हुन् उनी ?

लोकपथ
98
Shares

काठमाडौं । चरम आर्थिक संकट व्यहोरेको श्रीलंकाको नयाँ राष्ट्रपतिमा अनुरा कुमारा दिसानायके चुनिएका छन् ।

वामपन्थी झुकाव राख्ने दिसानायके राष्ट्रपतीय निर्वाचनमा दोस्रो चरणको मतदानमा त्यहाँको राष्ट्रपतिमा चुनिएका हुन् ।

राष्ट्रपति निर्वाचनमा पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको मतदान भएको थियो । यो श्रीलंकाको इतिहासमा नै पहिलो घटना भएको बीबीसीले जनाएको छ । श्रीलंकाको राष्ट्रपतीय निर्वाचनको इतिहास केलाउने हो भने सन् १९८२ यताका आठवटै निर्वाचनमा पहिलो चरणबाटै राष्ट्रपति चुनिएका थिए । त्यसो शनिबार भएको राष्ट्रपति निर्वाचमा अहिलेसम्मकै कडा प्रतिष्पर्धाकाबीच भएको हो ।

पहिलो चरणमा दिसानायकले ४२.३१ प्रतिशत मत ल्याउँदा विपक्षी नेता सजिथ प्रेमदासाले ३२.७६ प्रतिशत मत मात्रै प्राप्त गरे । भ्रष्टाचार र बेथितीले थिलोथिलो भएको श्रीलंकामा त्यसलाई चिरेर मुलुकलाई नयाँ मार्ग दिने नीतिलाई कडा रुपमा प्रस्तुत गरेका कारण पनि उनी निर्वाचित हुन पुगेका हुन् ।

चुनावमा करिब ७० प्रतिशत मत खसेको थियो र ३८ जना उम्मेदवारहरूले राष्ट्रपतिका लागि आफूलाई अघि सारेका थिए । तर पहिलो चरणबाट दोस्रो चरणमा आइपुग्दा अन्य उम्मेदवारहरु बाहिरिएसँगै दुई जनाबीच मात्रै प्रतिष्पर्धा भएको हो ।

आइतबार मतगणना जारी रहँदा दिसानायकलाई हालका राष्ट्रपति रनिल विक्रमसिंघ र विपक्षी नेता सजिथ प्रेमदासाका समर्थकहरूले बधाई दिइसकेका थिए । मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भए पनि हुनसक्ने सुरक्षा चुनौतीका कारण कर्फ्यू लगाइएको थियो, भने निर्वाचन सम्पन्न भएपछि त्यसलाई हटाइएको थियो ।

सन २०२२ मा हालसम्मकै खराब आर्थिक संकट उत्पन्न भएपछि श्रीलंकामा भएको जनआन्दोलनले देशका नेता गोटाबय राजपक्षलाई पदबाट बर्खास्त गरेपछि पहिलोपटक त्यहाँ निर्वाचन भएको हो । हाल ७५ वर्षका विक्रमसिंघलाई पूर्व राष्ट्रपति गोटाबय राजपक्ष अपदस्थ भएको एक सातापछि संसद्ले राष्ट्रपतिमा नियुक्त गरेको थियो । तर यस पटक भने उनले तेस्रो स्थानको मत पाए ।

अहिलेको निर्वाचनलाई अर्थतन्त्र सञ्चालन गर्ने सरकारको नयाँ नीतिबारे जनमत संग्रहको रुपमा हेरिएको छ ।

को हुन् अनुरा दिसानायके ?

सन २००० बाट निरन्तर सांसद रहेका अनुरा वामपन्थी झुकाव रहेका नेता हुन् । ५५ वर्षीय अनुरा श्रीलंकाको न्यासन्स पिपुल्स पावर गठबन्धनका नेता हुन्, जसमा मार्क्सवादप्रति झुकाव राख्ने उनको दल समेत समेत सामेल रहेको छ ।

उनको दलले परम्परागत रूपमा नै राज्यले बलियो हस्तक्षेपहरू गर्नुपर्ने, करको दायरा घटाउनुपर्ने र बजार र अर्थतन्त्रसम्बन्धी नीतिहरूमा केही कडा व्यवस्थाहरू ल्याउनुपर्ने नीतिको समर्थन गर्ने गर्छ ।

दिसानायकेले मतदाताहरूलाई भ्रष्टाचार विरोधी कदमहरू चाल्ने र सुशासन दिने बाचा गरेका थिए । सन २०२२ को संकटपछि निरन्तर परिवर्तनको पक्षमा पैरवी गरिरहेका मतादाताहरूको भावनासँग उनले सम्प्रेषण गरेका ती सन्देशहरू मेल खाने गरेको जस्तो देखिन्थ्यो ।

जीभीपीको संसद्मा जम्मा तीन सिट रहेको थियो तर गरिब पक्षधर नीति र भ्रष्टाचारविरुद्ध उभिने प्रतिबद्धताले दिसानायकेलाई लोकप्रिय बनायो ।

उनले आफूलाई परिवर्तनको संवाहक नेताका रूपमा प्रस्तुत गर्ने क्रममा सत्तामा आएको ४५ दिनभित्र संसद्लाई भंग गरिदिने र आफ्नो नीति कार्यान्वयनका लागि ताजा जनमत लिने उल्लेख गरेको रोएटर्सले जनाएको छ ।

चुनौतीको समयमा मुलुकको बागडोर सम्हाल्ने मौका पाएका दिसानायकेलाई अर्थतन्त्र उकास्दै लाखौँ नागरिकहरुलाई गरिबिको रेखामुनीबाट उकास्ने मुख्य चुनौती रहेको छ ।

देशको राजनीतिमा चरम परिवारवाद हाबी हुँदा देशले आर्थिक संकट व्यहोर्नुपरेको भन्दै सन २०२२ मा राजपक्ष परिवारलाई त्यहाँका जनताले सत्ताच्युत गरेका थिए । राष्ट्रपति भवन समेत आन्दोलनकारीले कब्जा गरेपछि उनीहरु देश नै छाडेर भाग्न बाध्य भए । देशले भोगेको नमिठो राजनीतिक घटनाको घाउ सेलाउन नपाउँदै आएका दिसानायकेलाई पनि इतिहासले झक्झकाउने र गलत नीति अख्तियार नगर्न सचेत गराउने त्यहाँका नागरिकको अपेक्षा छ ।

त्यो बेला श्रीलंकाको विदेशी मुद्रा सञ्चिती कमजोर भएको थियो भने उक्त देशले इन्धन लगायत अत्यावश्यक वस्तुहरू आयात गर्न सकेको थिएन । सार्वजनिक ऋण वृद्धि भएर ८३ अर्ब डलर पुगेको थियो भने मुद्रास्फीति ७० प्रतिशतले बढेको थियो ।सर्वसाधारणहरूलाई खानेकुरा र औषधिजस्ता आधारभूत आवश्यकता पुरा गर्न कठिन भएको थियो ।

कैयौँ नीतिगत कमजोरी, कमजोर निर्यात र वर्षौँदेखि कर प्रणालीमा रहेका समस्या लगायतलाई त्यस्तो अवस्था आउनुको कारण मानिएको छ ।

इतिहासबाट पाठ सिकेर छिट्टै मुलुकलाई आर्थिक समृद्धिमा अघि बढाउने कडा नीति लिएका कारण राष्ट्रपति निर्वाचनमा उनी छनोटमा परेका हुन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?