वामपन्थी नेता दिसानायका राष्ट्रपति निर्वाचित भएपछि श्रीलंकाका प्रधानमन्त्रीद्वारा राजीनामा

लोकपथ
427
Shares

कोलम्बो । श्रीलंकाको नयाँ राष्ट्रपतिमा अनुरा कुमारा दिसानायका निर्वाचित भएपछि प्रधानमन्त्री दिनेश गुणवर्धनाले सोमबार बिहान राजीनामा दिएका छन् । आफ्नो राजीनामा पत्रमा गुणवर्धनाले श्रीलंकाको नवौँ कार्यकारी राष्ट्रपतिको रूपमा दिसानायके निर्वाचित भएसँगै देशको संविधानअनुसार नयाँ मन्त्रीमण्डल गठनका लागि मार्ग प्रशस्त गर्न राजीनामा दिन लागेको उल्लेख गरेका छन् । दिसानायकाले चुनावमा विजय हासिल गरेपछि गुणवर्दनाले आइतबार राति नै उनलाई बधाई दिएका थिए । 

श्रीलंकामा पहिलो वामपन्थी राष्ट्रपति अनुरा कुमारा दिसानायकाले सोमबार नै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । श्रीलंकाको निर्वाचन आयोगले आइतबार दिसानायकालाई मुलुकको राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेको थियो । शनिबार भएको निर्वाचनमा पिपुल्स लिबरेसन फ्रन्टका ५५ वर्षीय नेता दिसानायका ४२ दशमलव ३१ प्रतिशत मत प्राप्त गरी राष्ट्रपतिमा विजयी भएको आयोगले जनाएको छ । 

विपक्षी दलका नेता सजिथ प्रेमदासा ३२ दशमलव ७६ प्रतिशतका साथ दोस्रो स्थानमा रहेको थियो भने सन् २०२२ को आर्थिक संकटको चरम अवस्थामा पदभार सम्हलेका र अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) बेलआउटको सर्तअनुसार कठोर मितव्ययिता नीतिहरू लागु गरेका निवर्तमान राष्ट्रपति रनिल विक्रामासिंघे १७ दशमलव २७ प्रतिशतका साथ तेस्रो स्थानमा रहेका थिए । 

सन् २०२२ मा श्रीलंकामा आएको आर्थिक मन्दीका कारण आम श्रीलंकावासीले पीडादायी कष्ट भोग्नु परेपछि दिसानायकाको समर्थनमा वृद्धि भएको थियो ।

सांसदहरू, बौद्ध धर्मगुरुका सदस्यहरू र समारोहबीच ५५ वर्षीय दिसानायकाले प्रधान न्यायाधीश समक्ष शपथ ग्रहण गरेका हुन् । शपथ ग्रहणपछि दिसानायकाले भने, ‘जनताको राजनीतिज्ञप्रतिको विश्वास लाई पूर्ण रूपमा पुन:स्थापित गर्न म सक्दो प्रयास गर्नेछु ।’

उनले भने, ‘म जादुगर होइन, मैले जानेका कुराहरू छन् र मलाई थाहा नभएका कुराहरू पनि छन्, तर म उत्तम सल्लाह लिनेछु र मेरो सर्वोत्तम प्रयास गर्नेछु । त्यसका लागि मलाई सबैको सहयोग चाहिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?