अमेरिकन डलर देखाई ठगी गर्ने तीन जना पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । अमेरिकन डलर देखाई ठगी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सर्लाही घर भई हाल भक्तपुर जगाते बस्ने ३० वर्षीय साजन भन्ने लाल बहादुर घिसिङ, सिन्धुपाल्चोक घर भई हाल ठिमी बस्ने २० वर्षीय सुन बहादुर तामाङ र सिन्धुपाल्चोक बाह्रबिसे कर्थली घर भई हाल सुर्यविनायक कटुन्जे बस्ने २९ वर्षीय भिम बहादुर तामाङ रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई जडिबुटीबाट शुक्रबार पक्राउ गरेको हो ।

उनीहरुले गत भदौ २८ गते चाँगुनारायणबाट एक जना पीडिलाई अमेरिकन डलर देखाई नेपाली नगद साट्दा फाइदा हुन्छ भनि प्रलोभनमा पारी नगद ४० लाख रूपैयाँ ठगी गरी फरार रहेको प्रहरीले बताएको छ ।

प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले असोज २ गते एक जना पीडितबाट नगद ७ लाख रूपैयाँ, भदौ ३१ गते ५ लाख रूपैयाँ र गत साउन २० गते एक जनाबाट नगद १० लाख रूपैयाँ ठगी गरेका खुल्न आएको छ ।

यसैगरी गत चैत १३ गते एक जना पीडितबाट नगद २ लाख रूपैयाँ पनि ठगी गरेको खुल्न आएको छ । उनीहरूलाई थप आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?