‘यो प्रचण्डको संविधान हो, यसैलाई नेपालको संविधान बनाउनु पर्छ’

लोकपथ
217
Shares
फाइल तस्बिर

काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नेपालको संविधान २०७२ प्रचण्डको संविधान भएको दाबी गरेका छन् । 

संविधान कार्यान्वयन: अपेक्षा र वास्तविकता विषयक अन्तरक्रिया कार्यक्रममा उनले सशस्त्र द्वन्द्वको १० र मूलधारको राजनीतिमा आएको १५ वर्ष राजनीति प्रचण्डकै वरिपरि घुमिराखेको भन्दै यो प्रचण्डको संविधान २०७२ भएको बताएका हुन् । 

आजको वास्तविकता पनि प्रचण्डबाट नै उजागर भएको र अब सुधारको लागि पनि प्रचण्डको संविधानलाई नेपालको संविधान बनाउनु पर्ने उनको धारणा छ । 

उनले भने, ‘नेपालको संविधान २०७२ लाई मैले प्रचण्डको संविधान २०७२ भन्ने गरेको छु र अहिले हामी जुन बाटो हिँडिरहेका छौँ, यहाँ अरू पार्टीका साथीहरू पनि हुनुहुन्छ, पहिले सशस्त्र द्वन्द्वको १० वर्ष त्यो सम्पूर्ण समय प्रचण्डको वरिपरि राजनीति घुम्यो । र जब उहाँ मूलधारको राजनीतिमा आएको १५ वर्षपछि पनि उहाँकै वरिपरि राजनीति घुमिराखेको छ । ३२ सिटको जादुमय कुरा त उहाँ आफैँले गर्नुभएको छ, सिट थोरै होस् वा धेरै उहाँकै वरिपरि घुमिरहेको छ । यो संविधानलाई प्रचण्डको संविधान भन्नुको कारण के हो भने यसबाट जे भएको छ, त्यो प्रचण्डकै संविधानमार्फत गरिएको छ, जे वास्तविकता छ त्यो पनि यहीबाट उजागर भएका छन्, र जे सुधार खोजिन्छ अब प्रचण्डको संविधानलाई नेपालको संविधान बनाउनु पर्छ भन्ने मेरो धारणा हो ।’

यसको साथै, उनले कांग्रेस र एमालेका साथीहरूले यो संविधान हामीले बनाएको भनेर हात उठाए पनि संविधानको निर्माणमा सबैको सहायक भूमिकामा प्रचण्ड नै रहेको बताए । 

संविधानको अब हाँगा र पातको उपचार खोजेर यसलाई टालटुल गरेर देशलाई सही दिशामा ल्याउन नसकिने पनि उनको भनाई छ । 

उनले भने, ‘तपाईको कोटमा एक, दुई ठाउँमा प्वाल पर्‍यो भने सिलाउन सकिन्छ तर जताततै बाट च्यातियो भने सकिँदैन, त्यसै गरी यो संविधानको अब हाँगा हाँगा र पातको उपचार खोजेर यो संविधानले यो देशलाई सही दिशामा ल्याउन सकिँदैन । यो संविधानलाई टालटुल गरेर हुँदैन ।’ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?