अब हामी संयमित बन्ने कि

केही समयदेखि रवि, छबि र जीबी चर्चामा छन् । तीन व्यवसायिक साझेदारलगायत अन्य व्यक्तिमाथि सहकारी ठगीको आरोप छ । आइतबार साँझ एकाएक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय वनस्थलीको घण्टीघरमा ‘रवि दाइ हाई हाई’ को मात्र नारा लाग्यो । त्यहाँ रविको पक्षमा मात्र नारा लागेन, चर्काे स्वरमा सरकारविरोधी नाराहरु उर्लिए । एक म्यासेजकै भरमा रास्वपा समर्थित कार्यकर्ताहरु त्यहाँ जम्मा भएपछि सुनसान जस्तो घण्टीघर होहल्लामा परिणत भयो ।

पार्टीको उर्दीपछि एकै फड्कोमा त्यहाँ पुगेकाहरुले रवि र रास्वपाको समर्थनमा भन्न मिल्ने जति शब्द खर्चिएर नारा मात्र लगाएनन्, केपी ओली, शेरबहादुर देउवा, प्रचण्डदेखि नयाँ/पुराना नेताहरुलाई तथानाम गाली गर्न पनि छुटाएनन् । अरु त अरु समाचार संकलनमा पुगेका पत्रकारमाथि पनि गालीको वर्षात् भयो ।

आइतबार साँझदेखि रातिसम्मको भीडको नाराअनुसार रवि निष्कलंक हुन्, उनीमाथि यसअघि र भविष्यमा पनि गल्ती गर्दा पनि कुनै कारबाही हुनु हुँदैन । रास्वपा र रास्वपा समर्थित भीडका अनुसार सहकारी ठगीमा रविमाथि षडयन्त्र गरियो, राज्य नै लाग्यो । त्यसो त यसअघि नागरिकता प्रकरण बाहिर आएर अदालतले नै नागरिकतामा कैफियत नदेखाउँदासम्म उनीमाथि छानबिन गर्न पर्ने नपर्ने तर्कहरु व्यापक देखिए । नागरिकतामा नै समस्या देखिएका व्यक्तिलाई उपप्रधानसहित गृहमन्त्री बनाइएको भनेर अन्तर्राष्ट्रिय चासोका साथ हेरियो । आफ्नै गल्ती र बलमिचाइले हुँदाखाँदाको मन्त्रीदेखि सांसदसम्मको पद जाँदासम्म भीडले भनिरह्यो, रवि निर्दोष हो, रविमाथि कारबाही मान्य हुँदैन ।

अहिले सहकारी काण्ड त्यसैगरी आएको छ । सहकारी ठगी प्रकरणबारे पनि राज्यले छानबिनको दायरामा ल्याउला, एउटा निष्कर्ष निकाल्ला अनि दोषी वा निर्दोष थप छानबिनपछि देखिएला । त्यस अघिसम्म एउटा हुलले रवि निर्दोषिताको नारा लगाइरहन्छ । राज्यका निकायको छानबिनपछि छुट्टिने न्याय अन्यायबारे सडक र भीडले न्यायालयले दोषी निर्दोषको फैसला चलिरहेको छ । व्यक्तिवादितामा रमाइरहेको भीड छानबिनपछि रवि दोषी नै देखिए पनि त्यो मान्न तयार छैन, त्यो त्यही भीड हो, जसलाई नागरिकता प्रकरणमा रवि दोषी देखिँदा पनि अझै रविमाथि षड्यन्ड गरियो भन्ने अझै लागिरहेको छ ।

अहिले जसरी नाराहरु लगाइएको छ त्यसले देशको ठुलो पंक्ति राज्य भन्दा व्यक्तिको पछि लागेको देखिन्छ । त्यसलाई राज्यप्रतिको अविश्वास त मान्न सकिएला तर कानुनी राज्यमा कानुनकै धज्जी उड्ने गरी नारा लाग्नु राम्रो भने पक्कै होइन ।

विषय रविको मात्र होइन, अन्य दल र नेतामाथि पनि यी र यस्तै आरोप लाग्दा सम्बन्धित दलका समर्थकहरुबाट लाग्ने नारा यस्तै हुन् । यसले देखाउँछ हामी कति अन्धभक्त भयौँ, हामीमा राज्यप्रतिको विश्वास कति छ र राज्यले आफूलाई कति विश्वासिलो बनाउन सकेको छ भन्ने ।

अल्पविकसित देशका हामी अल्पविकसित मानसिकता लिएर अल्प ज्ञानको भडासले अल्पज्ञानी वौद्धिक विश्लेषणमा एक से एक बन्यौँ । वर्षौँदेखि विकासको आश्वासन बाँड्नेहरु सरकारको नेतृत्वका लागि दर्जनौँ पटक पुगे फेरिए । तर सोचेअनुसारको परिणाम नपाएपछि मानिसबाट आउने भनेकै आक्रोश हो, कुण्ठा, गुनासा हो, रिस हो । तर नागरिकको आक्रोश र व्यक्तिमाथि निर्भरताको विकल्प धेरै अप्ठेरो कुरा भने पक्कै छैन । हामीलाई चाहिएको सुशासन, समृद्धि, विकास, अनुशासन र नागरिक चेतना हो । हामी यीनै विषयलाई व्यवहारिक बनाएर सोचेअनुसारको मुलुक निर्माणका लागि नेतृत्व तहदेखि नागरिक तहसम्म जिम्मेवार बन्न सकेनौँ ।

आधुनिक मलेशियाका निर्माता डा. महाथीर विन मोहम्मद, दक्षिण कोरियाका जिहाङ पार्क र सिंगापुरका ली क्वान यु, यी र यस्तै हामीले विकासका लागि मान्ने गरेको आदर्श पात्र हुन् । के हाम्रो देशमा पनि ली क्वानहरु जन्मिएका थिएनन्, छैनन् र हुने छैनन् होला त ? तर ली क्वान कसलाई मान्ने ? जसले हाम्रो समाजमा लुप्त रुपमा साना साना काम गरेर ठुलो क्रान्ति ल्याइरहेका छन्, तर राज्यले देखेको छैन, तिनलाई मान्ने ? हामी कन्फ्युजनमा छौँ । अनि न लाग्छौँ भीडको पछि, अनि अर्धशिक्षित समाजलाई लाग्छ भीड नै न्यायाधीश हो, भीड नै न्यायालय हो ।

यीनै भीडभाडले जन्माएका पात्रहरुलाई त्यही भीडले नै नेपाली ली क्वानको दाँजोमा राखिदिन्छ ।

आफ्ना परिवारका सदस्यमाथि आर्थिक अपचलनको आरोपपछि सबैभन्दा पहिले आफैँले संसदीय समितिको माग गरेर छानबिनका लागि राज्यलाई सघाउने ती ली क्वान, अनि छानबिनका लागि पन्छिने यी रवि र केवल छानबिन मात्रै गर्छु भन्दा हुँदैन भनेर छेक्ने यो भीड । विषय रवि मात्र होइन, रवि प्रवृत्तिको हो, जसले वर्षौँदेखि जनतालाई आँखामा छारो हालेर आफू स्वघोषित निष्कलंक बनिरहेका छन् ।

अनि के थाहा आफ्ना पार्टीका नेता कार्यकर्तालाई अदालतकै पुर्जी लिएर पक्राउ गर्ने प्रहरी अधिकारी होस् या आफू प्रतिकुल फैसला आए न्यायमूर्तिमाथि आक्षेपदेखि अभियोगसम्म लगाउनेहरुबाट प्रशिक्षित भएकाहरुलाई नेल्शन मण्डेलाको महानता ।

हामीलाई संस्था होइन व्यक्ति बलियो चाहिएको छ । संसददेखि सार्वजनिक मञ्चसम्म सुन्नुहोस् त प्रधानमन्त्री, मन्त्रीदेखि सांसद अनि नयाँदेखि पुराना नेतासम्म । ९५ प्रतिशत शब्दहरु आफूलाई मन नपर्नेमाथि कटाक्ष गर्नमा खर्च हुन्छन्, त्यसैको लोलीमा बोली मिसाउने ठुलो पंक्तिलाई आफ्नाको भाषण बाहेक केही सत्य जस्तो लाग्दैन । त्यसबाटै मर्यो नागरिक सचेतना, नागरिकको विवेक त्यतातिर पनि सोच्ने कि !

आफू सत्तापक्षमा हुँदा निरीह र प्रतिपक्षमा हुँदा रक्षात्मक बन्ने प्रवृत्तिले हाम्रो अविकासको ग्राफ विकासतर्फ अघि कदापि उक्लिने छैन ।

विकास एउटा प्रक्रिया हो, त्यो भन्दा ठुलो नागरिक शिक्षा र चेतना हो । भोलि बिहानको सूर्याेदयसँगै घरअघिको बाटो एकाएक कालोपत्रे हुने, विदेशमा पुगेको श्रीमान–छोरो–छोरी–दाइ र भाइहरुले देशमै फर्किएर रोजगारी पाइहाल्ने, एकसेएक स्कुल खुल्ने, भ्रष्टाचारको नकाव भिरेर आदर्शको गफ छाँट्ने भ्रष्टाचारी जेलमा कोचिने, किसानदेखि हाकिमसम्म, पिउनदेखि तिउनसम्मका समस्या छु मन्तर पार्दिने ‘म्याजिकल’ र ‘र्‍याडिकल चेन्ज’ को नायक हाम्रो कल्पनामा छ । ‘रील्स’ को जमानामा हामी पूरै कथावस्तु हेर्ने फुर्सदमा छैनौँ, पूरै किताब पढ्ने फुर्सद हामीलाई छैन, अघिको प्रकाशकीय पढेर वा त्यसबारे लेखिएको कुनै ‘रिभ्यू’ पढेरै आफ्नो धारणा बनाएर आफूले बुझेको कुरालाई मात्रै सत्य मान्ने प्रवृत्ति हामीमा हाबी भयो । अमुक व्यक्तिको लागि घण्टीघरदेखि माइतीघरसम्म लाग्ने ‘जिन्दावाद’ र ‘मुर्दावाद’ को नारा पनि त्यही अल्पज्ञानको उपज हो ।

एउटा उदाहरणबाट हेरौँ मुलुकको विकासका लागि नेता नेतृत्व मात्र होइन नागरिकमा पनि सुसंस्कार र सचेतना जरुरी छ भन्ने । केही समयअघि म एउटा जापनीज कन्सल्टेन्सीको कार्यक्रममा पुगेको थिएँ । त्यहाँ केही अतिथी जापनीजहरु थिए ।

विद्यार्थीहरुलाई प्रमाणपत्र दिँदै गर्दा होस् या बोल्दै गर्दा उनीहरु विद्यार्थीहरुको अघि झुकिरहेका थिए । आफूले खाएको मात्र होइन हामीले खाएर त्यसै फालिदिएका प्लेटहरुलाई डस्टविनसम्म पुर्याइरहेका थिए । ‘पोलिटिकल स्टन्ट’ देखिरहेका म र हामीलाई उक्त कुराले अचम्मित पनि तुल्यायो । खानाको भाँडो उघारिने बित्तिकै नेपाली पारामा हामी तछाड र मछाड गरिरहँदा उनीहरु भने हामीहरुलाई लाइनमा बस्न इसारा गरिरहेका थिए । खानाको लाइनमा हामी (मसहित) जित्न पाइयो भन्ने लागिरहँदा उनीहरु अरुलाई अवसर दिन पाउँदा दंग थिए, हामी त उसले हामीलाई सम्मान गर्यो भनेर बहुत गौरवान्वित बन्यौँ । सुसंस्कृत समाज र दुर्गन्धित समाज दुवैको एक नमुना थियो त्यो ।

जहाँका नागरिक सचेत छन्, त्यहाँ सुशासन पक्कै हुन्छ, जहाँ नागरिकहरु आफ्नो जिम्मेवारी पूरा गर्छन्, त्यहाँ राज्यबाट पाउने सुविधाका हकदार हुन्छन् । हामीमा राज्यले कुनै व्यक्तिमाथि स्वभाविक छानबिन गर्न खोज्दा त्यसको प्रतिकारमा जाने फुर्सद नहोस् त अनि विस्तारै आउँदैन सुशासन ? २४सै घण्टा कसैका लागि ‘हाचिको डग’ को जस्तो बफादारिता निभाइदिने फुर्सद नहोस् त अनि आउँदैन नागरिक चेतना ? जुन देशमा जनता भन्दा बढी कार्यकर्ता छन्, जहाँ दुख गर्ने भन्दा ठालु पल्टिएर खानेहरुको बोलवाला हुन्छ, जुन देशमा किसानदेखि पत्रकारसम्म आफ्नो जिम्मेवारी भन्दा नेतागिरीमा बढी रमाउँछ भने त्यहाँ विकास, समृद्धि, सुशासन र जवाफदेहिता कहाँबाट आउने ? खाली नेता, आफ्नो भन्दा फरक सिद्धान्त मान्ने व्यक्ति समूहलाई गलत देख्ने, अनि विकास नभएको कुरामा नेतालाई मात्र धारेहात लगाउने नागरिकले एक पटक सोचोस् आफू कति जवाफदेही छु भनेर । अनि आफ्नो मूल धन्दा नै नेताको चाकडीमा लाग्ने र त्यतिलाई मात्रै सही लाग्नेले आफैँमा जवाफदेहिता र आफ्ना नेतामा निष्पक्षता खोजोस् त अनि हामीले सोचेको जस्तो समृद्धि आउँदैन ?

यहाँ अर्को उदाहरण दिँदा अलि वान्छनीय हुन्छ जस्तो लाग्छ । छिनोको प्रहारपछि मात्रै कुनै ढुंगोले मूर्तिको आकार लिन्छ भनेजस्तै हिरोसिमा र नागासाकीमा अमेरिकाको एटम बम प्रहारपछि जापानले पाठ सिक्यो । योजनाबद्ध विकासको सुरुवात गरिरहेको जापानलाई अमेरिकी झापडले लय पकड्न थप बल पुग्यो । एटम बमको बायोलोजिक असर अझैसम्म देखिए पनि उनीहरुमा अमेरिका र त्यहाँका नागरिकप्रति घृणा भाव गर्ने फुर्सद नै छैन । तर हामी भने भारतप्रति इगो साँधेर बसिरहेका छौँ, आफ्नो राष्ट्रियता भारतको विरोधमा खोजिरहेका छौँ । हामीले पटकपटक झापड खायौँ, अहँ ! हामीले चेतेनौँ । नाकाबन्दीदेखि भूकम्पसम्म हाम्रो पछिल्लो समयको ठुला सिकाइका ग्रन्थ थिए । तर त्यसलाई अवसर भन्दा पनि विरोधको आँखाबाटहेर्‍यौँ ।

नाकाबन्दी छिमेकी राष्ट्रको हेपाइ त पक्कै थियो नै, साथसाथै अवसर पनि थियो । हाम्रै जस्तो अवस्था जापान जस्ता देशहरुले भोग्नु परेको भए उत्पादनमा जोड दिन्थे होला, सम्भावनाको खोजी गर्थे होला, त्यसपछि जुन देशले नाकाबन्दी गर्यो त्यही देशलाई गुणस्तरीय सामान निर्यात गरेर परनिर्भरताबाट आत्मनिर्भरताको सन्देश दिन्थे होला । अनि पर्ने थिएन, कुनै सांसदले जुम्लाको स्याउ राम्रो छ, बजार पाइरहेको छैन, त्यसलाई नेपाली बजारमा ल्याउँ भनेर घोक्रो सुकाएर कराउन ।

केवल हामी जवाफदेहिता नेता र नेतृत्व अनि राज्यमा मात्रै खोजिरहेका छौँ । तर समाजका ससाना एकाइहरु जसको कारण राज्य सुसज्जित छ भन्ने सन्देश दिन्छ त्यसमा पनि जवाफदेहिता खोज्ने कि ! विद्यालयको बेवास्ता गरेर शिक्षकलाई नेता बन्नुछ, किसानमा उत्पादन भन्दा युनियनको नेता बन्ने ध्याउन्न जाग्छ, ‘विद्यार्थी’ कलेजमा विद्यार्थी कम राजनीतिज्ञ ज्यादा बन्न मन पराउँछ, प्राध्यापकको हालत उही, कर्मचारीको हालत उही, अनि आम नागरिकको हालत पनि उस्तै उस्तै । हामीले चुनेका सांसद कानुन निर्माणका लागि हो भन्ने हामीलाई थाहा छ, तर उनीहरुबाट उचित कानुन होइन, घर नजिकको पुल, बाटो, जागिरको अपेक्षा हामीलाई हुन्छ । धेरै काम त्यसमै लगाउँछौँ अनि उनीहरुबाट जवाफदेहिता हामी खोज्छौँ ।

जनताबाट नेता तर्सिने, प्रतिपक्षमा बसेको दलले सत्तापक्षमा बसेको दललाई तर्साउने मुख्य मसलाको काम गरिरहेको छ ।

कुरा राजनीतिमै जोडिएको छ, कुरा भ्रष्टाचार र भ्रष्टाचारीमै अड्किएको छ । सार्वभौम संसद्को कुनै सदस्यले संसद्को रोस्ट्रमबाट मैले घुस खुवाएर आएँ भन्दा घुस खानेलाई कारबाही भयो त ? सुशासनका कुरा गर्ने हामी बोल्यौँ त त्यो घुस खाने र खुवाउने दुवैलाई कारबाही खै ? भनेर ।

व्यवहारिकता भन्दा सुशासन समृद्धि, विकास, भ्रष्टाचाररहित समाजको कुरा सुगा रटाइ बन्दियो अनि पो आरोपका फोहोर जीउभरी टाँसेर हिँडेको कुनै पात्रले ‘म एकदम असल मान्छे मलाई फसाउन खोजियो’ भन्ने अत्तर कार्यकर्ताको जिउमा छर्किदिन्छ, अनि त्यही झुटको मादकतामा हाम्रो ठुलो युवाशक्ति बलजफ्ती असत्यलाई सत्य सावित गर्न भौतिक, मौखिकदेखि प्रविधिसम्मको प्रयोग गरेर कसैलाई देवत्वकरण र कसैलाई दानवीकरण गर्न उद्धत्त बन्छ ।

००७ सालका जनताले सोच्दा हुन् राणाशासन गएपछि देशमा कायापलट हुन्छ । त्यसपछिको ०१७ देखि ०४६ सम्मको जनताले सोच्थे होला, यो पञ्चायती व्यवस्था गएपछि त…! ०६२/०६३ का बेलाका हाम्रो पुस्ताले राजाको शासनदेखि सशस्त्र द्वन्द्वसम्म अन्त्य भई गणतन्त्र आएदेखि त…! त्यो पनि आयो, केही वर्ष संविधानको घिडघिडो नागरिकलाई भयो, संविधान आएपछि अहिले हामी त्यही संविधानले परिकल्पना गरेको व्यवस्थामध्येकै उत्तम व्यवस्था यानेकी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा छौँ ।

धेरै कुराहरु फेरियो, फेरिनु पर्ने नागरिकको चेतनास्तर र नेताको नियत फेरिँदै फेरिएन । अहिले गणतन्त्रवादीदेखि राजतन्त्रवादी डराउने, राजतन्त्रवादीदेखि गणतन्त्रवादीहरु डराउने, दुवै वादीलाई चुनौती दिनेहरु राज्यदेखि नै डराउने मनोरोग दल र नेतामा देखिन्छ । र, समग्र राज्य प्रणाली अनि त्यसमा रहेकाहरु भने नागरिकको आक्रोशसँग डराउने स्थिति बनेको छ । नेपालमा आक्रोशको ग्राफ बढिरहेको बेला बंगलादेशको घटना तर्सिने र तर्साउने दुवै शक्तिका लागि एक अर्कालाई हान्न प्रयोग हुने अस्त्र बनिरहेको छ । नागरिक तहबाट आएको आक्रोशको ध्वनी सुन्न नसकेर शेख हसिनाले देश नै छाडेर भाग्नुपरेको विषयले नेपालमा जनताबाट नेता तर्सिने, प्रतिपक्षमा बसेको दलले सत्तापक्षमा बसेको दललाई तर्साउने मुख्य मसलाको काम गरिरहेको छ ।

आक्रोशित युवाले आन्दोलनमा भन्दिन्छ कि अब देशको अवस्था बंगलादेशको जस्तो हुन्छ । आक्रोशित युवा मात्र होइन पटकपटक प्रधानमन्त्री बनिसकेको नेता स्वयंले आफूबाहेक अरुका कारण देश बंगलादेश बन्न सक्छ भन्ने चेतावनी दिन्छ ।

त्यो आक्रोशको आगोमा राफिएको युवादेखि त्यो नेतासम्मलाई के थाहा बंगलादेशको राजनीति लयमा आउन कति समय लाग्छ ? नागरिक हक अधिकारका कुरा कहाँ जान्छन्, शिक्षा स्वास्थ्य रोजगारीको अवस्था के हुन्छ ? त्यहाँ बनेको नयाँ सरकारले विश्वसामु आफ्नो गिरेको साख फर्काउन के के बेल्नुपर्छ ? अनि फेरि नागरिकमा त्यही वितृष्णा फैलियो भने आउने नयाँ नेतृत्वले पनि ढुक्कका साथ काम गर्न सक्ला ? हाम्रो बहस यतातिर छैन, बंगलादेशबाट शेख हसिनालाई लखेटेर उनको कार्यकक्षबाट साडी, ब्यागदेखि सोफासम्म बोकेर युवायुवतीहरुले खुसियाली मनाएर निस्किएको देखेको आक्रोशित नेपालीले सोचिदिन्छ, ‘सिंहदरबार र बालुवाटारबाट त्यसैगरी शासक खेदेर सोफासेट बोकेपछि बल्ल यो देशमा रामराज्य आउँछ’ ।

नागरिकदेखि नेतासम्म आवेश, आक्रोश र उत्तेजना सिर्जना गर्न बहुत सहज र सजिलो छ । नागरिकमा उत्तेजना फैलाएर आफ्ना विरोधीहरुलाई त्यो आक्रोश व्यक्त गराउन लगाएर आफू सत्तापक्षमा हुँदा निरीह र प्रतिपक्षमा हुँदा रक्षात्मक बन्ने प्रवृत्तिले हाम्रो अविकासको ग्राफ विकासतर्फ अघि कदापि उक्लिने छैन ।

विरोध गर्नेहरुलाई एकैछिन त मज्जा नै आउँछ, जितेको जस्तो पनि लाग्छ, त्यो रात मज्जाले निद पनि आउला । तर विश्वले हामीलाई हेर्न दृष्टिकोणबारे हामी कति सचेत छौँ, प्रश्न यहाँनेर उठ्छ ।

फरक प्रसंगको थोरै कुरा जोड्न मन लाग्यो । विश्वले दुईवटा विश्वयुद्धको गाथा पढ्दा त्यहाँ कतै न कतै नेपालीहरुले वीरतापूर्वक लडेको कथा भेट्छ । कतिपयले त अनाहकमा अरुका लागि मार्न र मर्न तयार हुने भएका कारण ‘नेपालीहरु बुद्धु भएर नै बहादुर कहालिएका हुन्’ पनि भन्छन् । हिजो हामी ‘वीर गोर्खाली’ को उपनामले विश्वमा चिनियौँ तर हाम्रो वीरता हामीले जोगाउन सकेनौँ । हिजो हामी अरुका लागि लड्यौँ, त्यो परिवेश त्यस्तै थियो । तर हिजो विश्वमा वीर पुजिएर अरुका लागि अरुकै विरुद्ध लडेका हामी आज खै कसका लागि आफ्नैविरुद्ध पनि लडिरहेका छौँ ? यसको अन्तिम विन्दु के ? कहाँ पुगेर हामी–हामीबीचको लडाइँ सकिनेछ ? कहाँ पुगेर हाम्रो आक्रोशको ग्राफ घट्छ ? हामी आफ्नाविरुद्ध यति आक्रोशित बन्न लाग्यौँ कि हाम्रो वीरता गलत ठाउँमा प्रयोग हुन थालेको भान हुन्छ ।

नहुँदो हो त देशकै प्रतिनिधित्व गरेर विदेश भ्रमणमा गएका नेता र सरकार प्रमुखविरुद्ध नै त्यो आक्रोश पोखिन थाल्नु हामी कति चेतनशील नागरिक हौँ भन्ने देखाउँछ । पछिल्लो तात्तातो उदाहरण प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमणमा भएको विरोधलाई लिन सकिन्छ । देशकै प्रतिनिधित्व गरेर गएको प्रधानमन्त्री विदेशमा आफ्नै नागरिकबाट असुरक्षित देखेर त्यहाँको कुटनीतिक नियोगले विशेष कारणवश भन्दै कार्यक्रम रोक्नु पर्छ । विरोध गर्नेहरुलाई एकैछिन त मज्जा नै आउँछ, जितेको जस्तो पनि लाग्छ, त्यो रात मज्जाले निद पनि आउला । तर विश्वले हामीलाई हेर्न दृष्टिकोणबारे हामी कति सचेत छौँ, प्रश्न यहाँनेर उठ्छ । यति लेखिरहँदा पनि राज्य, त्यसका निकाय र सञ्चालकप्रति केही आक्रोश पंक्तिकारलाई पनि पक्कै छ । तर राज्यका निकाय बलियो होस् भन्ने भन्दा पनि आफ्नो विवेक बन्धकीमा राखेर केवल अमुक पात्रका लागि हामी कसैका प्रति मर्न र मार्न त तयार भइरहेका छैनौँ ? यो प्रश्न भीडमा उत्तेजित हुनेहरुका लागि छाडौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?