महिला लिग फुटबल : चन्द्रा भण्डारीको ह्याट्रिकमा आर्मी विजयी

लोकपथ
0
Shares

काठमाडौं । काठमाडौं जारी एन्फा महिला लिग फुटबल प्रतियोगितामा चन्द्रा भण्डारीको ‘ह्याट्रिक’मा वालिङ नगरपालिकालाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब विजयी भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा आर्मीले वालिङ नगरपालिकालाई ८–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । आर्मीका लागि चन्द्राका साथै विमला विक र अमिशा कार्कीले समान दुई– दुई गोल गरे भने एक आत्मघाती गोल भएको थियो ।

खेलको ३८औँ मिनेटमा विमलाले गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाइन् । त्यसपछि खेलको ४२औँ मिनेटमा चन्द्राले गोल गर्दै आर्मीको अग्रता दोब्बर बनाइन् । उनले गोल गरेको दुई मिनेट बित्न नपाउँदै वालिङ नगरपालिकाकी खेलाडीले आत्मघाती गोल गरिन् ।

खेलको पहिलो हाफमा ३–० गोल अन्तरले अगाडि रहेको आर्मीले खेलको दोस्रो हाफमा पाँच गोल थप्यो । खेलको ५४औँ मिनेटमा चन्द्राले व्यक्तिगत दोस्रो गोल गरिन् भने उनैले खेलको ७३औँ मिनेटमा एक गोल थप्दै ह्याट्रिक पूरा गरिन् । त्यसैगरी, अमिशा कार्कीले ६१औँ र ७१औँ मिनेटमा गोल गरिन् । विमलाले खेलको ९०औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन् । खेलमा चन्द्रा ‘प्लेयर अफ दी म्याच’समेत घोषित भइन् ।

जितसँगै आर्मीले आठ खेलबाट १९ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । समान आठ खेल खेलेको वालिङ १२ अंकका साथ अंकतालिकाको चौथो स्थानमा छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी उक्त प्रतियोगितामा विभिन्न दश टोलीको सहभागिता रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?