प्रकाशमानप्रति रविन्द्र मिश्रको कडा आक्रोश : ‘अर्को चुनावमा तपाईँलाई नहराई छाड्दिन’

लोकपथ
504
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहसँग कडा रुपमा प्रस्तुत भएका छन् ।

उनले बालमन्दिरको जग्गा हिनामिनामा जोडिएकी सिंहकी दिदी रिता सिंह वैद्यलाई उनी लगायत राज्यसंयन्त्र प्रयोग हुन लागेको भन्दै कटाक्ष गरेका हुन् ।

बालमन्दिरको जग्गा प्रकरणमा जोडिएकी सिंहसहित २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ । तर प्रकाशमान सत्तामा पुगेका बेला उनको मुद्दा फिर्ता गराउने चलखेल सुरु भएको भन्दै उनले अर्को निर्वाचनमा काठमाडौं क्षेत्र नं १ बाट हराउने दाबी गरे ।

उनले अघिल्लो निर्वाचनमा आफू एक्लै लडे पनि सिंहले गठबन्धनको साथ पाएर जितेको आरोप लगाएका छन् । ०७४ र ०७९ को निर्वाचनमा सिंहले झिनो मतले मात्रै मिश्रसँग जितेका थिए ।

सामाजिक सञ्जालमा लेख्दै उनले आगामी निर्वाचनमा सो क्षेत्रबाट आफू जित्ने दाबी गर्दै भनेका छन्, ‘अनाथ बालबालिकाको बाल मन्दिर नै ध्वस्त पार्ने आरोप लागेकी दिदीलाई बचाऊ गर्न ‘मुद्दा नै ढिसमिस गर्न खोज्ने’ तपाईँलाई नहराई त कहाँ छोडुँला र! जुन दिन म तपाईँलाई हराउँछु नि, त्यस दिन बल्ल यो देशको वास्तविक रूपान्तरणको शंखनाद हुनेछ । यसलाई शाब्दिक होइन, प्रतिकात्मक रूपमा बुझ्नुहोला ।’

मिश्र सामाजिक सञ्जालमा लेख्छन् :

एक्लै–एक्लै फाइट गर्ने ?
एक्लै–एक्लै लडेको भए मैले तपाईँ (प्रकाशमान सिंह) लाई दुबै पटक आरामले हराइदिन्थेँ । तर के गर्ने सबै हतकन्डा अपनाएर, अर्काको बुइ चढेर जित्नुभयो। त्यो पनि बल्लबल्ल थोरैथोरै मार्जिनले ।
तर चुनाव जितेर, उपप्रधानमन्त्री भएर के गर्नुहुन्छ ? तपाईँको भन्दा मेरो नाक १०० गुणा बढी ठाडो छ । याद गर्नुभा छ ?
चुनाव जित्दैमा, मन्त्री र प्रधानमन्त्री हुँदैमा इज्जत बढ्ने होइन । इज्जत बढ्न त त्यो अनुरूपको काम हुनुपर्छ, जुन तपाईँमा शून्य छ ।
मेरा लागि दूरदराजका असल शिक्षकको इज्जत तपाईँजस्ता मन्त्री र प्रधानमन्त्रीको भन्दा दशौँ गुणा बढी छ । अब तेस्रो पटक, अनाथ बालबालिकाको ‘बाल मन्दिरु नै ध्वस्त पार्ने आरोप लागेकी दिदीलाई बचाऊ गर्न मुद्दा नै ढिसमिस गर्न खोज्ने’ तपाईँलाई नहराई त कहाँ छोडुँला र!
जुन दिन म तपाईँलाई हराउँछु नि, त्यस दिन बल्ल यो देशको वास्तविक रूपान्तरणको शंखनाद हुनेछ । यसलाई शाब्दिक होइन, प्रतिकात्मक रूपमा बुझ्नुहोला ।
नयाँ पत्रिकाको समाचारको अंशस्
कार्यवाहक प्रधानमन्त्री तथा कांग्रेस नेता प्रकाशमान सिंहकी दिदी रिता सिंह वैद्य मुख्य आरोपी रहेको नेपाल बाल संगठनको जग्गा लिजमा लगाउँदा भएको हिनामिनासम्बन्धी मुद्दा प्रहरीले ढिसमिस पार्ने तयारी गरेको छ ।
कांग्रेसकै नेता रमेश लेखक गृहमन्त्री रहेका वेला सिआइबीले यो बहुचर्चित मुद्दामा उनलाई जोगाउने प्रक्रिया अघि बढाएको हो । वैद्य बाल संगठनकी पूर्वअध्यक्ष हुन् ।
३३ वर्षसम्म एकछत्र अध्यक्ष भएर संगठन चलाउने क्रममा वैद्यले संगठनको नक्सालस्थित २८ रोपनी पाँच आना जग्गा अनियमित तबरले लिजमा लगाएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?