यस्तो छ चाडपर्व लक्षित ललितपुर प्रहरीको सुरक्षा योजना

लोकपथ
28
Shares

काठमाडौं । दसैँ नजिकिँदै जाँदा ललितपुर प्रहरीले चाडपर्व सुरक्षा योजना तयार गरेको छ । दसैँ–तिहार र छठ पर्वमा विभिन्न आपराधिक गतिविधि हुनसक्ने भन्दै ललितपुर प्रहरीले चाडपर्व सुरक्षा योजना तयार पारेको हो ।

दसैँ, तिहार र छठ पर्वमा १५ प्रकारका अपराध हुनसक्ने प्रहरीको आँकलन छ । सबैभन्दा धेरै चोरीका घटना हुने गरेको ललितपुरमा चाडपर्वका अवसरमा पाकेटमारी, ठगी, लुटपाट, स्न्याचिङ, कुटपिट, झैझगडा, गुण्डागर्दी, सवारीमा भाडा वृद्धि, कालोबजारी, खाद्य पदार्थको कृत्रिम अभावजस्ता अपराधका घटना हु्नसक्ने प्रहरीको विश्लेषण छ ।

यस्तै, विस्फोटक पदार्थको अवैध कारोबार, घरेलु मदिराको प्रयोगबाट हुने अपराध, सवारी दुर्घटना, ध्वनि प्रदूषण र सार्वजनिक यातायातमा हुनसक्ने महिला हिंसाको घटनालाई पनि न्यूनीकरण गर्ने गरी सुरक्षा योजना तयार गरिएको छ ।

यसका लागि ललितपुर प्रहरीले ललितपुर जिल्लामा १ सय ८३ ठाउँमा चेक प्वाइन्ट राख्ने भएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीका अनुसार चेकजाँच गर्न एक सिफ्टमा १ हजार भन्दा बढी प्रहरी परिचालन गरिने भएको छ ।
यस्तै, चाडपर्वमा विभिन्न शक्तिपिठहरुमा पूजा आराधना गर्न विशिष्ट व्यक्तिहरूको सहभागिता हुने समयमा त्यस्ता ठाउँहरूमा सुरक्षा प्रदान गर्ने गरी योजना तयार गरिएको छ । प्रहरीले चाडपर्वको समयमा बिदा हुने सरकारी कार्यालयको पनि सुरक्षा गर्ने योजनामा उल्लेख गरेको छ ।

चाडपर्वलाई लक्षित गर्दै सात दोबाटो, लगनखेल, गोदावरी र प्यांगाउमा प्रहरी सहायता कक्ष स्थापना गरिने भएको छ । यस्तै, जिल्ला भित्रिने र बाहिरिने सडक नाकामा कुकुर परिचालन गरिने, जिल्लाका मुख्य स्थानहरूमा चोरी सम्बन्धी सचेतनामूलक जिंगल बजाउने र आर्थिक कारोबार हुने क्षेत्रहरूमा कन्ट्रोल रुम भेहिकल (सीआरभी) परिचालन गर्ने ललितपुर प्रहरीको योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?