ललितपुर महानगरलाई स्मार्ट सिटी बनाउन चिरिबाबुकाे यस्ता छन् योजना

लोकपथ
28
Shares
Chiribabu_Maharjan

काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले महानगरलाई स्मार्ट सिटी  बनाउन लागिपरेको बताउँदै त्यसका लागि विपद्बाट आउन सक्ने जोखिम न्यूनीकरण गर्न जरुरी रहेको बताएका छन् । 

बुधबार ललितपुर महानगरपालिकाको आगलागी नियन्त्रण सचेतना अभियान शुभारम्भ कार्यक्रमलाई प्रमुख महर्जनले विपद्लाई सम्बोधन गर्न नसके स्मार्ट सिटी किमार्थ हुन नसक्ने उल्लेख गर्दै यसलाई महत्वकाकासाथ हेरिरहेको बताएका हुन् । 

उनले भने, ‘हामी ललितपुर महानगरलाई एउटा स्मार्ट सिटी बनाउने तर्फ लागिरहेका छौँ । स्मार्ट सिटी बनाउने सन्दर्भमा विपद्लाई सम्बोधन गरिएन भने स्मार्ट सिटी किमार्थ हुन सक्दैन । त्यस कारण हामी यसतर्फ एकदम महत्वको साथ ध्यान दिइरहेका छौँ । आवश्यकता अनुसार हामीले लगानी पनि गरिरहेका छौँ । अहिले हाम्रो नगर प्रहरी बल १२५ जनाको हुन पुगेको छ । हामीले समयसापेक्ष यो विपद्का साधनहरूको समेत व्यवस्थापन गरेका छौँ । यी सबै काममा हामी अग्रसर भई नै रहेका छौँ ।’

विपद्सम्बन्धीका घटना र परिघटनाको व्यवस्थापनका लागि आवश्यक साधनहरू एउटै छानामुनि तयारी अवस्थामा राखिएको उनको भनाइ छ । 

उनले दमकल, एम्बुलेन्स, शववाहन, नगर प्रहरी र विपद्सम्बन्धी इक्युपमेन्ट्स टुलहरु पुलचोकमा व्यवस्थापन तयारीमा अवस्थामा राखेको उल्लेख गरे । 

‘हाम्रो एउटा मूलभूत उद्देश्य भनेको विपद्सम्बन्धी जति पनि अवयहरु छन् ती सबै एउटै छानामुनि व्यवस्थापन हुनुपर्दछ भन्ने नै हो । सोही अनुसार हामीले दमकल, एम्बुलेन्स, शववाहन, नगर प्रहरी र विपद्सम्बन्धी इक्युपमेन्ट्स टुलहरु पुलचोकमा तयारी अवस्थामा राखेका छौँ । तसर्थ कुनै पनि घटना परिघटना हुँदै गर्दा पहिलेको तुलनामा अहिले धेरै नै सुधार भएको छ ।’

त्यस्तै, प्रमुख महर्जनले कुनै पनि आगलागीका घटना घटेमा ११३१ मा फोन गरेर अथवा महानगरको स्मार्टमा समेत गएर जानकारी गराउन सबैमा आह्वान गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?