अन्यत्र गएकाहरु पुनः फर्किएमा महाशिलाले १ लाख अनुदान र ६ महिनाका लागि खाद्यान्न दिने

लोकपथ
28
Shares

काठमाडौं । पर्वतको महाशिला गाउँपालिकाले बसाइँसराइँ रोक्न र सरेर गएकाहरुलाई फर्काउन खाद्यन्न सहयोगदेखि आर्थिक सहयोगसम्म गर्ने भएको छ ।

पालिकाबाट आफू बसेको गाउँठाउँ छाडी अन्यत्र गएकाहरू पुरानै स्थानमा फर्किएमा गाउँपालिकाले एक लाख अनुदान र ६ महिनालाई पुग्ने खाद्यान्नको खर्च प्रदान गर्ने भएको हो ।

गाउँलेहरू बसाइँ सर्न थालेपछि पालिकाले यस्तो कार्यक्रम अघि सारेको गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले बताए ।

गाउँपालिकाले चालु आर्थिक वर्षदेखि यस्तो कार्यक्रम लागु गरेको हो ।

गाउँ छाडेर गएकाहरू फर्किएमा उनीहरूले अनुदान पाउने उनले बताए । गाउँ फर्केकाहरूलाई आफ्नो खेतबारीमा अन्न फलाउन कम्तीमा ६ महिना लाग्ने भएकाले उनीहरूको परिवारका सदस्यहरुको भरणपोषका निम्ति गाउँपालिकाले नै खाद्यान्न उपलब्ध गराउने छ । चामल, दाल, तेल, तरकारीका निम्ति पनि अनुदान दिइने उनले बताए ।

अध्यक्ष भुसालका अनुसार एक वर्षमा यो पालिकाबाट ९३ परिवारका तीन सय २५ जना बसाइँ सरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?