आईएमएफपछि एडीबीले पनि भन्यो : ‘नेपालको अर्थतन्त्र सुधारतर्फ गइरहेको छ’

लोकपथ
56
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) पछि एसियाली विकास बैंक (एडीबी)ले पनि नेपालको अर्थतन्त्र सुधार भइरहेको जनाएको छ ।

एडीबीले बुधबार एसियन डेभलपमेन्ट आउटलुक सार्वजनिक गर्दै नेपालको अर्थतन्त्र सुधारतर्फ गइरहेको जनाएको हो । 

एडीबी नेपालले बुधबार सार्वजनिक गरेको नेपाल सम्बन्धी विवरणमा सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत पुग्ने अनुमान गरिएको छ । यसअघि अप्रिल २०२४ मा सार्वजनिक गरिएको प्रक्षेपणमा नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशत मात्र हुने अनुमान गरिएको थियो । यो बीचमा कृषि उत्पादन, पर्यटक आगमनमा सुधार र विद्युत उत्पादनमा भएको वृद्धिसहितका कारणले जीडीपीमा सकारात्मक वृद्धि हुने एडीबीको अनुमान छ ।

एडीबी नेपालले सन् २०२५ मा नेपालको अर्थतन्त्रमा अझै सुधार हुने अनुमान गरेको छ । सो वर्ष ४.९ प्रतिशतको वृद्धिदर प्राप्त हुने अनुमान एडीबीको छ । अप्रिलको प्रक्षेपणमा ४.८ प्रतिशतको वृद्धिदर प्राप्त हुने अनुमान गरिएको थियो । सन् २०२३ मा २ प्रतिशतले मात्र अर्थतन्त्र विस्तार भएको थियो ।

दक्षिण एसियाली भेगमा सन् २०२४ मा ६.३ प्रतिशतको आर्थिक वृद्धिदर हुने अनुमान गरिएको छ । सन २०२५ मा यसै क्षेत्रमा  ६.५ प्रतिशतको वृद्धिदर हुने अनुमान छ । सन २०२३ मा ६.८ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त भएको थियो । यस भेगमा सबैभन्दा धेरै भारतको वृद्धिदर हुने देखिएको छ । भारतले ७ प्रतिशतको वृद्धिदर प्राप्त गर्ने एडीबीको अनुमान छ । बंगलादेश, भुटान र मालदिभ्सले समेत यस वर्ष ५ प्रतिशत माथिको वृद्धिदर प्राप्त गर्नेछन् ।

मुद्रास्फीतितर्फ सन् २०२४ मा नेपालले ५.४ प्रतिशतको सीमा भित्र राख्न सक्ने देखिएको छ । सन् २०२३ मा ७.७ प्रतिशत थियो । सन् २०२५ मा केही बढेर ५.५ प्रतिशत मुद्रास्फीति हुने अनुमान एडीबीको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?