स्वास्थ्य सम्बन्धी विधेयक एउटा पनि नआएको सभापति थापाको गुनासो 

लोकपथ
63
Shares

काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापाले स्वास्थ्य सम्बन्धी विधेयक एउटा पनि नआएको गुनासो गरेका छन् । 

बुधबार काठमाडौंमा नेपाल फार्मेसी संघले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले स्वास्थ्यका लागि पुराना ऐन कानुनले नचल्ने कारण नयाँ तरिकाले जानुपर्ने भन्दै कानुन बनाउनका लागि त्यस्तो समस्या नभएको बताए । 

उनले भने, ‘शिक्षा, स्वास्थ्य, सूचना र खेलकुद मन्त्रालय हाम्रो समितिको मातहतमा पर्छ । स्वास्थ्यका लागि मैले अझैसम्म पनि एउटा विधेयक भेट्या छैन । मैले स्वास्थ्य मन्त्रीलाई पनि स्वास्थ्यका लागि पुराना ऐन कानुनले चल्दैन भनेर भनेको छु । यसमा छिटोभन्दा छिटो नयाँ तरिकाले कसरी जान सकिन्छ ती ऐन कानुनहरू निर्माण गर्नु भनेर भन्दा धेरै विधेयकहरू पास गर्नुपर्ने छ भनेर भन्छन् तर विधेयकहरू आउँदैनन् । पुरानै ऐन कानुनमा रमाउनु पर्ने अवस्था हो की नत्र कानुन बनाउनका लागि त उहाँहरूलाई त्यस्तो समस्या छ जस्तो मलाई लाग्दैन ।’ 

यसको साथै, उनले डाक्टरहरूसँग दोहोरो सम्झौता नगरेसम्म औषधी बिक्री नहुने खालको प्रवृत्ति बढेको भन्दै कस्तो कुन कम्पनी भन्दा पनि बिरामीलाई के गर्दा सहज हुन्छ त्यो कुरामा ध्यान दिनुपर्ने बताए ।  

उनले भने, ‘डाक्टरहरूसँग दोहोरो सम्झौता नगरेसम्म औषधी बिक्री नहुने खालको प्रवृत्ति पहिलै देखि अनुभव गर्दै आएको हो । कुन डाक्टरले कुन बिरामीलाई कुन कम्पनीको औषधी लेख्नु पर्छ । उसले त्यही कम्पनीको औषधी मात्र ठिक हुन्छ है भनेर पनि भनेको पनि सुनेको छु । त्यसो भएको हुनाले बिरामीलाई कस्तो कुन कम्पनी भन्दा पनि बिरामीलाई उपचारको लागि सहज हुनका लागि के गर्नुपर्छ भन्ने कुरामा ध्यान दिनुपर्छ ।’ 

विदेशबाट औषधी ल्याउनु भन्दा नेपालभित्रकै उत्पादनलाई कसरी प्रोत्साहन दिन सकिन्छ त्यो विषयमा पनि ध्यान जानुपर्ने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?